काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ । बुधबार मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो । युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए । रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए । नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए ।
त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो । युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे । उनले ५१ रन जोडे । अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
त्यसअघि युएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभरमै शून्यमा रोहित पौडेलबाट क्याच गराए । चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफु ६ रनमा कुशल भुर्तेलबाट सामातिए । त्यसपछि गुल्सन झाले २ विकेट लिन सफल भए । उनले युएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र असिफ खानलाई १५ रनमा आउट गरेका थिए ।
करणले युएईका लागि ३२ रन बनाएर खेलिरहेका अली नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौ विकेटको रुपमा आउट गरे । बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा १९ रन खर्चिए । यस्तै गुल्सन झाले २ विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चिए । अभिनास र सोमपाल कामीले १-१ विकेट लिन सफल भए । सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ ।



