काठमाडौं । दशैंको तेस्रो दिन आज नवदुर्गा मध्येको तेस्रो स्वरुप चन्द्रघण्टा भगवतीको पूजा हुदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ ।
नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको स्मरण गरी भगवतीको पाठसँगै सिङ्गो प्रकृतिको रुपमा पूजाआरधना गर्ने गरिन्छ । दशैं घर वा पूजाकोठा तथा विभिन्न स्थानमा रहेका भगवतीको दर्शन गरी शक्तिको लागि दुर्गालाई पुज्ने गरिन्छ ।
चन्द्रघण्टा स्वरुपको पूजा आरधनाले शत्रुमाथि विजय पाउने विस्वास गरिन्छ । पञ्चांग निर्णयक समितिका पूर्व अध्यक्ष डा.माधव भट्टराई दुर्गाको चन्द्रघण्टा स्वरुपलाई सिङ्गो प्रकृतिको रुप मानेर पुज्ने र त्यसले शत्रुनास हुने बताउँछन् ।


