फाईल तस्बिर
गोरखा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा देखिएको निरासा चिर्नुपर्ने नेपाली काँग्रेसको अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । काँग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री थापाले पछिल्लो समय नेपाली काँग्रेस प्रति जनतामा गुम्दै गएको आत्माविश्वास फर्काउनका लागि काँग्रेस लाग्नुपर्ने बताएका हुन् ।
‘‘काग्रेसका नेता कार्यकर्ताहरुले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन, महामन्त्री थापाले भने, ‘‘अहिले देशको हितको बारेमा सोच्ने बेला हो, चुनाव आउछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठूलो कुरा होइन, चुनाव त एउटा सामान्य प्रक्रिया हो ।’’ काँग्रेसले जहिलेपनि देशको हितलाई सर्वाधिक ठानेर काम गर्दै आएको भन्दै उनले अहिलेपनि देशको हितलाई सर्वस्व ठानेर काम गर्नुपर्ने उनले बताए ।
उनले अहिले नागरिकहरुमा सवैभन्दा ठूलो निरासा देखिएकाले त्यसलाई चिर्ने काम काँग्रेसबाट हुनुपर्ने बताए । महामन्त्री थापाले अहिलेको सत्तारुढ गठबन्धन दुईचार जना नेताहरुको प्राइभेट क्बल जस्तो भएको आरोप समेत लगाए । गठबन्धनमा छलफल हुँदा दुईचार जना नेता बिचमात्र हुने गरेको भन्दै उनले त्यसलाई गठबन्धन दल भन्दा पनि गठबन्धनका नेताहरुको बैठक भन्न मिल्ने बताए ।
‘‘गठबन्धन पनि दुईचार नेताहरुको प्राइभेट क्लब जस्तो बनेको छ, महामन्त्री थापाले भने, ‘म काँग्रेसको महामन्त्री छु बेलाबेलामा गठबन्धन दलको बैठक बस्यो भन्ने सुन्छु त्यो गठबन्धन दलको बैठक बसेको होइन, गठबन्धन दलका नेताहरुको बैठक मात्र हो ।’’ नेपालको मुख्य राजनीतिक दलका मुख्य नेता नेपालको मुख्य पदमा २०-२५ बर्षदेखि दुईचार जनामात्रै आलोपालो पार्टीको नेतृत्व र सत्ताको नेतृत्वमा पुग्ने गरेको महामन्त्री थापाकोे भनाई छ ।
काँग्रेसलाई कहिले एमाले खेलाइदिने कहिले माओवादीले खेलाइदिने हुँदाहुँदा राप्रापाले समेत खेलाइदिने अवस्थामा पुगेको भन्दै काँग्रेसलाई रुपान्तरण गर्नु अनिवार्य रहेको उनले बताए । महामन्त्री थापाले अव आउने कुनै पनि प्रकारको चुनावमा काँग्रेसले कसैसंग चुनावअघि गठबन्धन नगर्ने समेत बताए ।
‘‘आमनागरिकको तहबाट काँग्रेसले गरेको गठबन्धनलाई सकारात्मक रुपमा लिइएन, उनले भने, ‘यसलाई दलले सरकार बनाउनका लागि वा सत्ताका निम्ति जे पनि गर्ने रहेछ भन्ने ढंगले जनताले लिए यो दल वा दलका नेताहरुको स्वार्थ पुरा गर्न गरिएका भनेर लिइयो । यसलाई पवित्र मानिएन यसलाई हामीले स्विकार गर्नुपर्छ ।’’
उनले अब आउने काँग्रेसको महासमितिको बैठकबाट आउने कुनैपनि चुनावमा काँग्रेसले कसैसंग पनि गठबन्धन गर्दैन भन्ने घोषणा गर्नुपर्ने आफ्नो प्रस्ताव समेत रहेको बताए ।


