विराटनगर । आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न २ जनालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का ३६ वर्षीय सुनील थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले २ दिनअघि विराटनगर-१२ रानीका रविकुमार साह सुडीबाट लाखौं रकम लुटेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार प्रहरी हौं भन्दै धम्क्याएर उनीहरुले लुटपाट गरेको पाइएको छ ।
लुटिएका पीडित साहले बिमाका लागि तिर्न र बैंकमा जम्मा गर्न लैजाँदै गरेको १२ लाख रूपैयाँ लुटिएको प्रहरीमा बताएका छन् । प्रहरीले पक्राउ परेकाहरुको साथबाट लुटिएको रकम पनि बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न तामाङ र थापा दुवै जागिर छाडेका (पूर्वप्रहरी) रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहाले जानकारी दिए ।



