गोरखा । गोरखा च्याङलीका राजेन्द्रराज पन्तलाई एक कार्यक्रम बिच सम्मान गरिएको छ । गोरखा सदरमुकाममा भएको कार्यक्रममा पालुङटार नगरपालिका–७ का कृषि उद्यमी पन्तलाई ‘राष्ट्रिय समाजसेवी सम्मान २०८०’ बाट सम्मान गरिएको हो ।
राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठान नेपालले गोरखा बजारमा आयोजना गरेको ‘बृहत्त लोकदोहरी महोत्सव गोरखा २०८०’ मा पन्तलाई नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोसल्लाह र सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।
च्याङलीलाई कर्म क्षेत्र बनाएर पन्तले बिगत २८ बर्षदेखी ठुलो संख्यामा ब्यवसायीक गाईपालन गर्दै आएका छन् । पन्तलाई कृषि उद्यममार्फत नेपाली समाजको रुपान्तरणकालागि पुरर्याउनु भएको योगदानको चर्चा गर्दै प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष हरिराम परियाले बताए ।
पन्तले यो सम्मानले अझै आफुलाई उक्त क्षेत्रमा कार्य गरी रहन उर्जा मिलेको भन्दै नेपालको बिकासमा कृषि क्षेत्र एक अभिन्न अंग भएको बताए ।
पन्तलाई प्रदान गरिएको सम्मान पत्रमा ‘राष्ट्र समृद्विको सर्बोत्तम आधार मानिएको कृषि उद्यमशिलतामा क्रियाशिल रहदै सवल, सक्षम र प्रभावकारी रुपमा कृषि क्षेत्रको संसथगत बिकास एवम आम कृषक वर्गको प्रेरणाको स्रोत बन्दै सर्वसर्वदा गोरखा जिल्ला मार्फत यस क्षेत्रलाई आफ्नो मुल उद्वेश्य र लक्ष्य मान्दै आत्मनिर्भरमुखी उद्यममार्फत रोगजारी प्रदान गर्दै ब्यवसायिक सफलता हासिल’ गर्न सफल भएको भन्दै ‘समृद्व मुलुक निर्माणमा यहाँले पुरर्याउनु भएको महत्वपूर्ण योगदानको उच्च मुल्याकंन गर्दै राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति गोरखाका आयोजनामा भएको ‘बृहत्त लोकदोहरी महोत्सव गोरखा २०८०’ को अवशरमा यहाँलाई राष्ट्रिय समाजसेवी सम्मान २०८० अर्पण गर्दछौ’ भनिएको छ ।
२०५२ सालदेखी च्याङलीमा ‘कामधेनु गाई पालन केन्द्र’ को स्थापना गरी पन्तले होलस्टन र जर्सी गाई पाल्दै आएका छन् । उनको फार्ममा अहिले ३१० वटा गाई तथा बाच्छाबाच्छी रहेको पन्तका छोरा राजिव पन्तले जानकारी दिए ।
उनका अनुसार ३०० रोपनी क्षेत्रफलमा फार्म सञ्चालन हुदै आएको छ । जसमध्ये २५० रोपनीमा घाँस खेती गरिएको छ । पछिल्लो समय २४० वटा गाईबाट दैनिक १ हजार ४०० लिटर दुध उत्पादन गरी बिक्री गर्दै आएका छन् ।




