गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई दशैको मुखमा घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता बिरतण गरेको छ । आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि पालिकाभित्रका बृद्वबृद्वाहरु खुशी भएका छन् ।
गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राही खुशी भएका हुन् । ‘‘पहिले त बृद्धा भत्ता लिनका लागि बैंकसम्म धाएर लाइन लाग्नु पथ्र्यो, जेष्ठ नागरिक राममाया गुरुङ्गले भनिन्, ‘‘अहिले घरैमा आएर बाड्न थालेपछि सजिलो भएको छ ।’’
उनले भत्ता बुझ्नका लागि बैंकसम्म जान र आउन आफुहरुले धेरै नै हैरानी खेप्नु परेको अनुभव सुनाईन् । ‘‘बैंकमा गएर लाइन बस्नुपर्दा पनि साह्रै नै गाह्रो हुन्थ्यो, उनले भनिन्, ‘गाडी भाडा खर्च उस्तै हुने, झण्झट पनि त्यस्तै हुन्थ्यो, आजभोली त बैंकका मान्छेहरु नै यही आएर बाड्न थाले सजिलो भएको छ ।’’
गाउँपालिकाले चाडबाड लक्षित गरी बृद्वबृद्वाहरुलाई सजिलो होस् भन्ने उद्देश्य सहित चालु आर्थिक बर्षको पहिलो चौमासिक अन्तरर्गतको सामजिका सुरक्षा भत्ताका साथै असहाय तथा अपांगता भएका व्यक्तिहरु, एकल महिला लगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
तालिका अनुसार र्बैक तथा गाउँपालिकाका कर्मचारीहरु सहितको टोलीले आइतबार गाउँपालिकाको वडा नम्बर ४ स्थित रन्चोक, सिम्बु र बर्दी डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । २१ गते आइतवारदेखि सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरणको काम यहीँ असोज २६ गतेसम्म चल्ने गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले वडा भित्र पाएक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरणको गर्न सुरु गरेको हो । सामाजिक सुरक्षा भत्ताका लागि असाहय तथा जेष्ठ नागरिकहरु बैंकसम्म पुग्न हैरानी खेप्नु परेको भन्दै सम्बन्धित बैंकसंग समन्वय गरी वडा र टोलटोलमा पुगेर भत्ता वितरण गर्दै आएको छ ।



