गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यस वर्ष असोज २१ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले दशैँ ,तिहार र छठ पर्वलाई लक्षित गरि सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
असोज २१ गते दिउँसो १ बजे नगरपालिका प्रमुख, जील्ला समन्वय समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सहुलियत मूल्यको पसल उत्घाटन गरीने कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।
कम्पनीले सोही दिनदेखी चामल खरिदमा प्रतिकिलो ७ रुपैँया छुट दिने छ । सूचना अधिकारी सुनारका अनुसार स्टिम जिरा मसिनो प्रति किलो ८६ मा बिक्री गर्दै आएकोमा उक्त दिनबाट ७९ रुपैया पर्नेछ । स्टिम जिरा मसिनो चामल २५ किलोको बोरामा उपलब्ध भएको सुनारले जानकारी दिए । स्टिम जिरा मसिनो चामल प्रति बोरा १ हजार ९७५ रुपैयाँ पर्नेछ ।
शाखा कार्यालय गोरखामा सोना मंसुली चामल २४३ क्विन्टल र स्टिम जिरा मसिनो चामल ३०७ क्विन्टल मौज्दात रहेको छ । कम्पनीले प्रति व्यक्ति १ बोराका दरले खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।
हिन्दु नेपालीहरुको महान चाढ वडादशैलाई मध्येनजर गरेर १ बोराको दरले मात्र खाद्यान्न बिक्रि वितरण गर्न लागेको कम्पनीको शाखा प्रमुख मुनिलाल कुश्वाहाले बताए । उनका अनुसार सोना मंसुली चामल भने हाल बिक्रि वितरण नगर्ने भएको छ । कम्पनीको नयाँ ढुवानी ठेक्का स्विकृत भईसकेको भएपनि सम्झौता गर्न बाकि रहेकोले थप खाद्यान्न प्राप्त हुन नसक्दा कारागार कायालय गोरखालाई सोना मंसुली चामल अनिवार्य उपलब्ध गराउनुपर्ने भएकोले हाललाई सोना मंसुली चामल बिक्रि नगर्ने भएको हो ।
तिहारको लागी भने थप चामल आईसक्ने र सोना मंसुली चामल पनि बिक्रि गरिने प्रमुख कुश्वाहाको भनाई छ । सहुलियत मुल्यको पसल असोज २१ गतेदेखि मंसीर ३ गते सम्म सञ्चालनमा आउने छ ।
कम्पनीले यस अघिका वर्षमा पनि सहुलियत मूल्यको पसल सञ्चालन गर्दै आएको थियो ।



