काठमाडौं । फिफा विश्वकप–२०२६ को एशियाली छनोटको प्लेअफ अन्तर्गत नेपाल र लाओसबीच हुने खेलको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी असोज २५ गते हुने खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले छनोट खेलको लागि अखिल नेपाल फुटबल संघले सम्पूर्ण तयारी अगाडि बढाएको जानकारी दिए । फिफा वरियतामा १८६औं स्थानमा रहेको लाओससँग १७५ औं स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्दैछ ।
खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अबेटो एनेसको मुख्य प्रशिक्षणमा रहेको २५ सदस्यीय टोली अहिले बन्द प्रशिक्षणमा रहेको एन्फाले बताएको छ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार खेल हुने दिनको टिकट साधारण तर्फ ३०० र भीआईपीतर्फ ५०० कायम गरिएको बताइएको छ । खेलको टिकट एन्फा आफैंले व्यवस्थापन गरेर ब्रिकी गर्ने बताइएको छ ।
लाओसको टोली आगामी अक्टोबर ९ मा नेपाल आइपुग्नेछ । प्रशिक्षणका लागि भने च्यासलस्थित रंगशालामा आवश्यक व्यवस्था मिलाइएको उनले बताए ।
७३ लाख ६८ हजार ४०० प्रतियोगिताको अनुमानित बजेट रहेको एन्फाले जनाएको छ । फिफा वरीयताका आधारमा एशियाका पुछारमा रहेका २० टोलीले प्लेअफ चरण पार गर्दै दोस्रो राउण्डमा स्पर्धा गर्नेछन् ।
होम एण्ड अवेको आधारमा हुने प्ले अफ राउण्ड पार गरे नेपालले दोस्रो चरणमा स्पर्धा गर्न पाउनेछ । विश्वकपको दोस्रो चरणका लागि २६ टोलीले स्थान बनाइसकेका छन् ।
प्लेअफ चरण पार गरेका १० टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन् ।



