गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले जग्गाको बर्गिकरण गरी कित्ताकाट खुल्ला गरेको छ । गाउँपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधान अनुसार पालिका क्षेत्र भित्र रहेका सम्पूर्ण जग्गाहरुको वर्गीकरण सम्पन्न गरी कित्ताकाट खुल्ला गरेको हो ।
भुउपयोग क्षेत्र बर्गिकरण ‘२०८०’ स्थानीय राजपत्रमा प्रकाशित गरेर असोज १५ गते मालपोत कार्यालय गोरखा बुझाएसंगै गाउँपालिकामा जग्गा कित्ताकाट खुल्ला भएको प्रमुख प्रशाकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए । गाउँपालिकाले जग्गा बर्गिकरण गर्दा पालिका भित्रका जग्गालाई ९ भागमा बर्गिकरण गरेको छ ।
‘कृषि, व्यवसायिक, सांस्कृतिक तथा पुरातात्विक, बनक्षेत्र, नदी खोला, औधोगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासिय सहित ९ भागमा जग्गाको बर्गिकरण गरिएको छ, आर्चायले भने, ‘बर्गिकरणको सवै काम सम्पन्न भएपछि जग्गा कित्ताकाट पनि खुल्ला गरिएको हो ।’
कित्ता, नापी नक्सा तथा फाइल नक्सा अध्यावधिक नभएका स्थानमा हालको वर्गिकरण अनुसार जुन कित्ता भिडान हुन्छ त्यही अनुसार कित्ता वर्गिकरणमा अध्यावधिक गर्ने व्यवस्था बर्गिकरणमा गरिएको छ । अहिले बर्गिकरण गरिएका कुनै पनि कित्ता मालपोतमा सिफारिस गर्नु अघि नै अन्य वर्गमा पर्ने पर्याप्त आधार पेश भएमा सोही अनुसारको सिफारिस गरी अध्यावधिक गर्ने व्यवस्था बर्गिकरणमा गरिएको छ ।
जग्गाको बर्गिकरण गरी स्थानीय भूउपयोग परिषदको बैठकबाट स्वीकृत समेत भइसकेको गाउँपालिकाले जानकारी दिएको छ ।
सवै प्रक्रिया पुरा भएपछि भूउपयोग क्षेत्र वर्गीकरण गरी गाउँपालिकाले जग्गाधनी दर्ता प्रमाणपुर्जामा भूउपयोग क्षेत्र वर्गीकरणको व्यहोरा अद्यावधिक गर्न सार्वजनिक सूचना समेत जारी गरेको छ ।



