गोरखा । गोरखा सदरमुकाममा प्रहरी दिवसको पूर्व सन्ध्यामा आयोजित निबन्ध लेखन प्रतियोगितामा बुंकोटकी कुञ्जला भट्ट प्रथम भएकी छिन् । शहिद लखन गाउँपालिका–८ को मैलुङमा रहेको रामेश्वरी माविमा कक्षा १० मा अध्ययनरत छात्रा भट्ट प्रथम भएकी हुन् ।
६८औं प्रहरी दिवसको पूर्व सन्ध्यामा सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ बिषयक निबन्ध लेखन प्रतियोगितामा भट्टले अग्र स्थान पाएकी जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनले लेखेको निबन्ध अहिले प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ । त्यहाँ पनि उनी प्रथम भएको खण्डमा प्रहरी प्रधान कार्यालय नक्साल पठाउने र अग्र स्थान हासिल गरको खण्डमा नगद २५ हजार सहित सम्मान गरिने कार्यक्रम रहेको निबन्ध प्रतियोगिताको कार्यक्रम संयोजक तथा सामुदायिक सेवा केन्द्र गोरखाकी उपाध्यक्ष मिनादेवी श्रेष्ठले जानकारी दिईन ।
उपाध्यक्ष श्रेष्ठका अनुसार भट्टलाई ६८औं प्रहरी दिवसको अवशरमा जिल्ला प्रहरी कार्यालय गोरखामा हुने कार्यक्रममा १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिने कार्यक्रम समेत तय भएको छ ।
सोही प्रतियोगितामा गोरखा नगरपालिका–६ पाटेचौरमा रहेको शक्ति माविकी खुश्बुकुमारी जैसवाल दोस्रो र गोरखा नगरपालिका–१० बिरेनचोकमा रहेको रत्नराज्य माविकी बविता कुमारी तेस्रो हुन सफल भएकी छिन् । उनीहरुले क्रमश ७ र ५ हजार नगद सहित सोही दिनमा प्रमाणपत्र सहित सम्मान पाउने छिन ।
जिल्लाभरीबाट २१ माविका २८ जनाको सहभागिता रहेको निबन्ध लेखन प्रतियोगितामा २ जनालाई सान्त्वना घोषणा गरिएको छ । सान्त्वना हुनेमा रत्नराज्य माविका दिपजङ कार्की र गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा रहेको महालक्ष्मी माविकी कृतिषा कार्की रहेकी छिन । उनीहरुले नगद २–२ सहित प्रमाणपत्र पाउने छन् ।
नेपाली र अंग्रेजी दुवै माध्यामबाट लेख्न पाइने निबन्धमा दोस्रो स्थान प्राप्त गर्ने खुश्बुकुमारी जैसवाल र सान्त्वना हुने दिपजङ कार्कीले अंग्रेजी माध्यामबाट निबन्ध लेखेका थिए ।


