गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडकखण्ड निर्माण सुरु भएको तीनबर्षभन्दा बढी भइसक्यो । पूर्वाधार विकास कार्यालय गोरखा र ठेकेदार कम्पनी बिचको सम्झौता अनुसार ठेकेदार कम्पनीले २०७९ साउनसम्ममा सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । तर सम्झौता अनुसार ठेकेदार कम्पनीले काम गरेन । अहिले उक्त सडकखण्डमा दैनिक यात्रा गर्ने सयौ यात्रु र सवारी साधनहरुले मात्र होइन पदैल यात्रीहरुले समेत हैरानी खेप्दै आउनु परेको छ ।
सडकमा बनेका खाल्डाखुल्टी र हिलाम्मे सडकका कारण सवारी साधनहरु गन्तव्यमा निस्किएपनि दजनौ ठाउँमा फस्छन् । पानी परेपछि करिब ९ किलोमिटर दुरी पार्न गर्नका लागि चर्को माघ नलागेसम्म पर्खिनु पर्ने बाध्यताले सवारी चालक, यात्रुहरु सवै हैरान भएका छन् । ‘पानी परेपछि गाडी ओहोरदोहोर गर्नसक्ने अबस्था नै हुदैन, बारपाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङ्गका अमर गुरुङ्गले भन्नुभयो, ‘समयमा काम सकिदिएको भए अहिले सडक कालोपत्रे भएको डेढबर्ष भइसक्थ्यो तर अझै कहिले सम्पन्न हुन्छ टुङ्गो छैन ।’
ठेकेदार कम्पनीको चरम लापरवाहीले गाउँपालिकाको केन्द्र र वडा कार्यालयहरुमा सेवा लिन जाने सेवाग्राहीले उत्तिकै सास्ती खेप्दै आउनु परेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्ट बताउनुहुन्छ । ‘पटक पटक ठेकेदार कम्पनी बोलाएर काम समयमा सम्पन्न गर्न भन्यौ, उहाँले भन्नुभयो,‘तर निर्माण व्यवसायीले अटेरी गरेर सडक निर्माणको काम फिटिक्कै अगाडी बढ्न सकेको छैन ।’
बि।स २०७७ साउन १४ गते सम्झौता भएको उक्त सडकखण्ड निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः म्याद थप भएको थियो । थपिएको म्याद पनि २०८० बैशाखमा सकिएको छ । तर ठेकेदार कम्पनीले अहिलेसम्म पनि नाला निर्माण र दायाँबाँया कटिङ्गको काम समेत पुरा गरेको छैन । सडक निर्माणको ठेक्का पाएको विरुवा÷वाइबा एण्ड जेवीले थप गरिएको म्याद गुर्जेको ६ महिना बितिसक्दा समेत काम गर्न ढिलासुस्ती गरिरहेको भन्दै त्यस क्षेत्रका स्थानीबासी र जनप्रतिनिधिहरु आक्रोसित समेत भएका छन् ।
उक्त सडक निर्माणका लागि बिरुवा÷वाईवा एण्ड लामा जेभीले २९ करोड ७७ लाख रुपैयामा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ८ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा कम्पनीले पाएको हो । समयमा काम नभएपछि गाउँपालिका अध्यक्ष सहितको जनप्रतिनिधि र स्थानीयबासीको टोलीले आइतवार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल पूर्वाधार विकास कार्यालयका प्रमुख सहितको उपस्थितीमा ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर समयमा काम सम्पन्न गर्न अल्टिमेटम दिएका छन् ।
छलफलमा पुगेको प्रतिनिधिहरुले घ्यामेसाल गैरीछाप देउराली ताकुकोट सडक कालोपत्रे गर्न काम छिटै सक्न ठेकेदारलाई दवाब दिएका हुन् । उनिहरुले जिल्ला प्रशासन कार्याललाई समेत ठेकेदार कम्पनीलाई दबाब दिन र यसको समाधान गर्न अल्टिमेटम दिएका छन् । छलफलमा गाउँपालिका अध्यक्ष भट्टले आफुहरु जनताको हितमा लडेको र जनताको सेवा गर्न राजनीति गरेको भन्दै जनतामाथी खेलवाड गर्नेहरु ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभयो ।
निर्माण व्यवसायीका कारण त्यसक्षेत्रका जनता धेरै दुःख पाएको उहाँको भनाई छ । उक्त सडकखण्ड निर्माण सम्पन्न नहुँदा बारपार सुलिकोट गाउँपालिको केन्द्र सहित वडा नम्बर ८ पन्द्रुङ्ग, वडा नम्बर ७ देउराली, वडा नम्बर ६ ताकु, आरुघाट गाउँपालिकाको वडा नम्बर ७ र ८ का स्थानीबासीहरुलाई समेत वडा कार्यालय तथा गाउँपालिका कार्यालयसम्म पुगेर सेवा लिन हुँदै आएको छ ।
रासस


