गोरखा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले तीनवटै तहका सरकारको संयुक्त प्रयासले मात्र देशमा तिव्र विकास निर्माणको काम सम्भव हुने बताए । गोरखाको सहिद लखन गाउँपालिका–५ भ्याकुरेमा आयोजित भ्याकुरे सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै उनले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले हातेमालो गरेर विकास निर्माणलाई गुणात्मक रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए ।
सभामुख धितालले जनताको चाहाना र आवश्यकता अनुसार विकास निर्माणका कामलाई अगाडी बढाउनुपर्ने समेत बताए। उनले जनताको आवश्यकता र प्राथामिकता नै विकासका प्राथामिकता हुनुपर्ने भन्दै स्थानीय सरकारले पनि सवै पक्षसंग हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । निर्वाचनका क्रममा भ्याकुरे क्षेत्रका जनताले भोगेका समस्याहरुलाई आफुले नजिकबाट नियाल्ने मौका पाएको भन्दै सभामुख धितालले स–साना समस्या टार्न सकेमात्र पनि जनतालाई सन्तुष्ट पार्न सकिने बताए ।
सभामुख धितालले जनतामा रहेको असन्तुष्टीलाई समेट्दै आवश्यकतालाई प्राथामिकीकरण गरेर सरकारले काम गर्नुपर्नेमा बताए । ‘दलित र जनजाति समुदायको बाहुल्यता बढी रहेको भ्याकुरेमा खानेपानीको अत्यन्तै समस्या देखेर निर्वाचन क्षेत्र पुर्वाधार विकासकोषबाट केही रकम बिनियोजन गरेर भ्याकुरे सोलार लिफ्ट खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गरिएको हो’ उनले भने ।
कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले भ्याकुरे खानेपानी आयोजना सम्पन्न गर्न निर्वाचित क्षत्रेका सांसदका हैसियतमा सभामुखले पुर्याउनु भएको सहयोगको महत्वपूर्ण रहेको बताए । उनले लिफ्टिङ खानेपानी आयोजना सही सदुपयोग गरी व्यवसायिक तरकारी खेती अघि बढाउन पनि स्थानीयबासीहरुलाई सुझाव दिए । त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने समेत अध्यक्ष थापामगरले उक्त समयमा प्रतिवद्धता व्यक्त गरे ।


