गोरखा । बिदाको दिनमा सरकारी सवारी साधान चलाएको भन्दै बिप्लप माओवादीको समुहले आज गोरखा सदरमुकामबाट ४ वटा सवारी साधान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये २ वटा जिप र २ वटा मोटरसाइकल भएको जिल्ला इन्चार्ज कपिल भट्टले जानकारी दिए ।
उनका अनुसार बिगत लामो समयदेखी जिल्ला भित्र सार्वजनिक बिदाका समयमा सरकारी सवारी साधानको दुरुपयोग भएको भन्ने पार्टीमा गुनासा आएकोले आज सदरमुकामको खोलखोले क्षेत्रमा कार्यकताहरु बसेर दुरुपयोग गरेका सवारीलाई नियन्त्रणमा लिने काम भएको हो ।
समूहको युवा संगठन नेपाल गोरखा नगरपालिका जाने मुख्य सडकमा बसेर जिल्ला समन्वय समितिको वा. २ झ २८९ र कुन्दुरटार–पालुङटार सिंचाइ आयोजनाको वि एबि ९१९८ नम्बर जिपलाई नियन्त्रणमा लिएको थियो ।
त्यस्तैगरी, पूर्वाधार कार्यालय गोरखाको प्रदेश ३–०२–००१ ब ३६४० र बाग्मती ए एए ४७२६ नम्बरको मोटरसाइकल नियन्णमा लिएको संगठनका जिल्ला संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
यता जिल्ला जिल्ला प्रहरी कार्यालयले पनि युवा संगठन नेपाल गोरखाले आज नियन्त्रणमा लिएको सवारीहरु प्रहरीलाई बुझाएको जानकारी दिएको छ । ए एए ४७२६ नम्बरको मोटरसाइकलका चालक भने सवारी रोकेर चाबी लिएर भागेका कारण कुन सरकारी कार्यालयको भन्ने यंकिन हुन नसकेको जानकारी दिएको छ ।
युवा संगठन नेपाल गोरखाको समूहले शनिबार बिहान गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा बिहान ८ः३० बजे उक्त सवारीहरु नियन्त्रणमा लिएको जनाएको छ ।
























