गोरखा । पछिल्लो केही दिनयता गोरखा सदरमुकामबाट मोटरसाइलक चोरीका घटनामा बृद्वि भएको छ । सदरमुकामबाट महिना दिन हुन नपाउदै ५ वटा मोटरसाइकल चोरी भएको छ । त्यस मध्ये १ थान मोटरसाइकल भने मंगलबार बिहान वेवारिसे अवस्थामा फेला परेको थियो ।
प्रहरीको फितलो सुरक्षा ब्यवस्थाका कारण महिना दिनमा सदरमुकामबाट ५ वटा मोटरसाइकल चोरी भएको हो । जसमा २ थान पल्सर र १/१ हाेण्डा साइन, एनएस र भि थ्री मोटरसाइलहरु रहेका छन् ।
चोरी घटना मध्ये मंगलबार बिहान मात्रै गोरखा नगरपालिका–६ सरस्वती मार्गबाट एकै साथ २ थान मोटरसाइलक चोरी भएको छ । स्थानिय सुमन गुरुङको २२० सिसीको निलो रंगको पल्सर मोटरसाइकल चोरी भएको छ । त्यस्तै गरी सोही समूहले रातो रंगको एनएस १५० सिसीको मोटरसाइकल पनि चोरी गरेका थिए ।
उक्त मोटरसाइकल भने पेट्रोल सकिएका कारण रानिबन क्षेत्रको कच्ची सडकमा फालेर भागेका थिए । वेवारिसे मोटरसाइकल भने प्रहरीले बिहान पख नियन्त्रणमा लिएर रातो एनएस भने सवारी धनी पहिचान गरी बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार मोटरसाइकल चोरीको घटनाका सवारी धनीले प्रहरीमा उजुरी समेत दिएका छन् । मोटरसाइकल चोरी भएका मध्ये पत्रकार सुदिप श्रेष्ठको गोरखा नगरपालिका–८ को बराह क्षेत्रमा पार्किङ गरेर राखेको ग. १९ प ७७७० नम्बरको २०० सिसीको पल्सर र गोरखा नगरपालिका–१० बिरेनचोकका सिजन रानाको ग. १७ प ८५८८ नम्बरको भि थ्री मोटरसाइकल चोरी भएको छ ।
त्यस्तैगरी, गोरखा नगरपालिका–८ पेट्रोल पम्प एरियामा घर भएका अर्जुन पाण्डेको पनि यही महिना मोटरसाइकल चोरी भएको थियो । उनको होण्डा साइनको ग. १० प ३४४० नम्बरको मोटरसाइकल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।



