गोरखा । उत्तरी गोरखाको मान्बु श्यामचेतमा १ जना महिलाको हत्या आरोपमा गोरखा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–१ श्यामचेत बस्ने बर्ष ३१ को कर्मा छिरिङ लामा र बर्ष १८ को साने भन्ने सुपराज लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गएको भाद्र ३० गते बिहान १०ः०० बजेको समयमा श्यामचेतकी ७० बर्षिया लामा आफ्नो १ तले १ कोठे कच्ची घर भित्र काठको बलोमा नाम्लोको डोरीले पासो लगाई झुण्डीई मृत अवस्थामा फेला परेकी थिइन ।
फेवा परेको शव कुहिन लागेको अवस्थामा रहेको र शंकास्पद मृत्यु देखिए लगत्तै गोरखा प्रहरीले प्रहरी निरीक्षक शेखर खड्काको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पठाएको थियो ।
प्रनि खड्काको टोलीले घटना स्थलमा बिस्तृत प्राविधिक तथा बस्तुपरक अनुसन्धानका क्रममा भाद्र २८ गते बेलुकी ६ः०० बजेको समयमा सोही स्थानमा बस्ने कर्मा छिरिङ लामा र साने भन्ने सुपराज लामाले सुनमायाँ लामाको हत्या गरेको खुल्न आए प्रनाउ श्रेष्ठले जानकारी दिए ।
अनुसन्धानबाट देखिएको प्रमाणका आधारमा दुवै जनालाई पक्राउ गरीएको हो । उनीहरुले घरमा कोही नभएको मौका छोपी लामाको घाँटीमा डोरीले २ तर्फबाट कसी हत्या गरेको प्रारम्भीक अनुसन्धानमा दुवैले स्विकार गरेको पनि प्रहरीले जानकारी दिएको छ ।
हत्या गरे लगत्तै मृतकलाई घरको कोठामा बलोमा लाश झुण्ड्याई मृतकको कानमा रहेको सुनको रिङहरु लुटी लगेको र बिक्रि समेत गरेको खुल्न आएको छ ।
पक्राउ परेकाहरुबाट मृतकको गहना र केही नगद समेत बरामद गरिको प्रहरीले जनाएको छ । दुवै जनालाई असोज ३ गते बुधबारका दिन कर्तव्य ज्यान कसूर शिर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको पनि प्रहरीले जानकारी दिएको छ ।


