सभा अघि सदरमुकाममा भएकाे रर्यालीमा सहभागी हुदै रबी लामिछाने, डा.स्वर्णिम वाग्ले र डा.ताेसिमा कार्की
गोरखा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी, पार्टी बनाउन नभई मुलुक बनाउन हिडेको बताएका छन् ।
गोरखा सदरमुकाममा शनिवार आयोजित गोरखा नगरपालिका भेला तथा आमसभालाई सम्बोधन गदै उनले मुलुकलाई आमुल परिवर्तनको बाटोमा लैजान आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको बताएका हुन् ।
‘देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन, उनले भने, ‘जसले धोका दियो उसलाई ढोकाबाट निकालिदिन्छौ, हामी एउटा व्यक्ति बनाउन हिडेका हौइनौ, पार्टी बनाउन पनि हिडेका होइनौ, मुलुकलाई परिवर्तनमा लिएर जानका लागि हिडेका हौँ ।’ सभापति लामिछानेले नेपाली जनताले एउटा युग पर्खेर बिकास र सम्बृद्धिका लागि अहिले रास्वपालाई भरोसा गरेको बताए ।
अहिले नेपालको संसदको गरिमा एक्काईस जना रास्वपाका सांसदहरुले बढाइरहेको भन्दै उनले रास्वपाका सांसदहरु चुनाव जितेर गएका टाउको मात्र नभइ देशलाई माया गर्ने मान्छेहरु रहेको बताए । सभापति लामिछानेले देशको बेथितीलाई राम्रो संग बुझेका र भ्रष्टाचारीहरु तह लगाउने क्षमता भएका सांसदहरु संसदमा गर्जिरहेको उल्लेख गरे ।
नेपाली सेनाका सन्दर्भमा रास्वपाले बोल्दै नबोलेको र भन्दै नभनेका कुरालाई भ्रमका रुपमा फिजाँएर पार्टीलाई कमजोर पार्ने षडयन्त्र भइरहेको भन्दै उनले केही गर्छु भन्ने केही नगर्नेहरुले रोक्ने र छेक्ने प्रयास गरिरहेको आरोप समेत लगाए । उनले क्षमतावान व्यक्तिहरुलाई पार्टीमा जोडेर लैजाने र देशलाई सम्बृद्धि बनाउने रास्वपाको अभियान रहेको बताए ।
‘जुनसुकै पार्टीका नेता कार्यकर्ता भएपनि देश परिवर्तनको पक्षमा रहनेहरुलाई पार्टीमा बाटो खुल्ला रहेको छ, सभापति लामिछानेले भने, ‘क्षमतावान मान्छेहरुलाई हामी राजनीतिमा लिएर जान चाहान्छौ ।’ उनले आफुहरु राजनीतिमा घिन लाग्दो दाउपेचमा कुसंस्कारलाई नसमाती सुयोग्य र सुसंस्कृत राजनीतिको बाटो समाएर अघि बढ्ने आटका साथ अघि बढेको बताए ।
‘रास्वपाले ०७९ मा प्राप्त गरेको मत इमान्दारिताका साथ प्राप्त गरेको इमानको भोट हो, इमानको बिउ हो, उनले भने, ‘आगामी २०८४ को चुनावसम्म यसलाई लहलाउदो बनाउछौ हामी ।’ देशमा भित्र रहेका बेथिती तथा भ्रष्टाचार बिरुद्धको लडाई आफुहरुको लडाई भएको सभापति लामिछानेले बताए ।
‘अब अर्को एउटा लडाईमा हामी सवै लागौँ, बेथिती बिरुद्धको लडाई, भ्रष्टाचार बिरुद्धको लडाई त्यो लडाईमा कसैलै ज्यान गुमाउन पर्दैन, उनले भने, ‘कुसंस्कारका बिरुद्ध लडौँ, संक्रिय भएर लडौँ ।’ सभापति लामिछानेले रास्वपाले भाृतसंगठन निर्माण नगर्ने र पद पाउनका लागि आउनेहरुलाई पार्टीले स्विकार नगर्ने दावी गरे ।




















