गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जनप्रतिनिधि, स्थानीयबासी तथा राजनीतिक दलका नेताहरुले चीन प्रवेशका लागि बोर्डर पासको व्यवस्था मिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) संग माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष निमा लामा नेतृत्वको टोलीले गृहमन्त्री श्रेष्ठलाई मन्त्रालयमा भेटेर तत्काल रुइला नाका हुँदै चीन प्रवेशका लागि स्थानीयबासीहरुलाई बोर्डर पासको व्यवस्था मिलाउन माग गरेका हुन् ।
‘कोरोना संक्रमण सुरु भएसंगै बन्द रहेको चीनसंग जोडिएको रुइला नाका हुदै आवातजावतका लागि खुकुलो भएको छ, तर बोर्डर पास नभएसम्म अझैपनि चीनले प्रवेश गर्न दिदैन, उनले भने, ‘हामीले गृहमन्त्रीसंगको भेटमा तत्काल त्यस क्षेत्रका बासिन्दालाई बोर्डर पासको व्यवस्था गर्न अनुरोध गरेका छौ ।’
चीनले आफुहरुलाई नाका प्रवेशमा खुकुलो गरेपनि बोर्डर पास बिना नागरिकताको आधार प्रवेश गर्न नदिने बताएको अध्यक्ष लामाको भनाई छ । छेकम्पार रुइला भन्ज्याङ नाका र सामागाँउको रुइला भन्ज्याङ नाका हुदै चीन प्रवेश गर्न नाका कोरोना संक्रमणपछि बन्द भएको थियो ।
त्यस क्षेत्रका बासिन्दाहरुलाई चीनको रुइ, कोन्दाङ र जुङ्गा बजारमा दैनिक उपभोग्य सामग्री किनमेल गर्न सजिलो पर्दछ । ‘चुमनुब्री क्षेत्रका बासिन्दाहरुको किनमेल र आउजाउ चीनको बजारमा हुने भएकाले धेरै मानिसहरु बोर्डर क्षेत्रमा प्रवेशका लागि पखाईमा छन्, उनले भने, ‘चीन तर्फबाट आउजाउका लागि बोर्डर पास अनिवार्य गरेकाले गृहमन्त्रीलाई पासको उपलब्ध गराईदिन भेटेर माग गरेका हौ ।’
गृहमन्त्रीसंगको भेटमा सामागाउँमा सशस्त्र प्रहरीको विओपी राख्नका लागि सवै तयारी पुरा भएपनि सामान ढुवानी गर्न नसक्दा ढिलाई भइरहेको भन्दै सामान ढुवानीका लागि हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिदिन समेत माग गरेको उनले जानकारी दिए । ‘सशस्त्र प्रहरीको विओपी सुरु गर्नका लागि सामाग्री ढुवानीका लागि सडकबाटो पुगेको छैन, अध्यक्ष लामाले भने, ‘त्यसका लागि ठूलो हेलिकप्टर आवश्यक पर्ने भएकाले सरकारले नै पहल गरेर सेनाको हेलिकप्टर मार्फत ढुवानीका लागि व्यवस्था मिलाई दिन अनुरोध गरेका छौ ।’ गृहमन्त्रीसंगको भेटमा अध्यक्ष लामा सहित पूर्वराज्यमन्त्री छमबहादुुर गुरुङ, स्थानीय समाजसेवीहरु लगायतको सहभागिता रहेको थियो ।


