काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले २२ जिल्लामा हालै निर्माण सम्पन्न गरेको ५१ वटा विद्युतीय विद्युतीय चार्जिङ स्टेसन एकै पटक आज उद्घाटन गरेका छन् । सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा उदघाट्न गरेको हुन् ।
मन्त्री बस्नेत र सचिव घिमिरेले राजधानीको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेर देशैभरको उदघाट्न गरेका हुन् ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा एवं प्राधिकरणको लगानीमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत ७ प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा गरी ५१ वटा विद्युतीय सवारी साधन फास्ट चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना–ठूला सवारीहरु चार्ज गर्न मिल्ने रहेको प्राधिकरणले जानकारी दिएको छ ।
चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री बस्नेतले कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरणमार्फत देशको दीगो विकासमा यसको महत्वपूर्ण पाइला भएको बताए ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए । उनले विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा २० गुणासम्म सस्तो पर्ने बताए ।
घिसिङले प्राधिकरणले देशभर थप ५०० वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको समेत जानकारी दिए ।
चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज गर्न सकिने छ ।
कुन जिल्लाको कुन स्थानमा सूची
प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार
धादिङ १
चितवन ३
काठमाण्डौ ६
ललितपुर १
सिन्धुली ३
महोत्तरी २
सर्लाही २
सुनसरी २
सिरहा २
नुवाकोट २
पर्वत १
दाङ १
कैलाली ३
बाँके २
मोरङ १
रुपन्देही २
भक्त्तपुर १
मकवानपुर २
सुर्खेत २
उदयपुर २
झापा ४
कास्की ४


