गोरखा । मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस गोरखामा पनि मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको मानव वेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी गठित जिल्ला स्तरीय समितिको बैठकले भदौ २० गते बुधबार बिभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले दिवसको अवसरमा प्रत्येक विद्यालयका कक्षा ८ देखि माथिका विद्यार्थीहरुलाई मानव वेचविखन तथा ओसारपसार विरुद्ध विद्यालयका शिक्षकहरुले अनिवार्य कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
त्यसका लागि शिक्षा विकास तथा समन्वय ईकाई, गोरखाले विद्यालयहरुसंग आवश्यक समन्वय गरी सम्पन्न कार्यको एकिकृत प्रतिवेदन समितिमा पेश गर्ने निर्णय भएको छ । त्यस्तैगरी, प्रमुख वजार क्षेत्रमा मानव वेचविखन तथा ओसारपसार वारे सजग गराउन सम्बन्धित क्षेत्रका प्रहरी कर्मचारी मार्फत माइकिङ्ग गरी सूचना संप्रेषण गर्ने, जिल्ला भित्रका संघसंस्थाले आफ्ना कार्यक्रम सञ्चालन गर्दा त्यस्ता प्रावधानका विषयवस्तु समेत समावेश गरी प्रचारप्रसार गर्न अनुरोध गर्ने निणर्य बैठकले गरेको छ ।
बैठकले स्थानीय सञ्चार माध्यमबाट समेत सूचना संप्रेषण गर्न अनुरोध गर्ने, गोरखा जिल्लाका सवै स्थानीय तहमा समिति गठन गरी परिचालन गर्न अनुरोध गर्ने तथा मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका कार्यक्रम, अभिमुखीकरण कार्यक्रम लगायतका विविध कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
सामाजिक विकास कार्यालय, गोरखा मार्फत अभिभावक बिहिन तथा सडक बालबालिका समेतको संरक्षणका लागि गोरखा जिल्लामा रहेका बाल सुधार गृह, मानव सेवा आश्रम समेतका विभिन्न संघ संस्थाहरुको अनुगमन गरी त्यस्ता संघ संस्थाहरुमा रहेका बालबालिकाहरुको फोटो सहितको लगत लिने निर्णय पनि बैठकले गरेको छ ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरको प्रमुख आतिथ्यतमा भएको बैठकमा जिल्ला स्थित बिभिन्न सरोकारवाला संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


