गोरखा । शिक्षकको मृत्यु भएको भन्दै आज बारपाक सुलिकोट गाउँपालिका भित्रका सबै शिक्षण संस्थानहरु बन्द गरिएको छ । सौरपानी सामुदायिक स्मृति आधाभूत बिद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधनमा आज पालिका भित्रका सबै शिक्षण संस्थानहरुमा बिदा दिईएको हो ।
बारपाक सुलिकोट–४ सौरपानी घर भएका श्रेष्ठको आजै बिहान निधन भएको थियो । पालिकाले बिहानै एउटा सूचना जारी गर्दै शिक्षक श्रेष्ठको निधनमा आज १ दिनको लागि शोक बिदा दिने निर्णय गरेको थियो ।
पालिकाले जारी गरेको सूचनामा ‘प्राथमिक तह तृतिय श्रेणीका स्थायी शिक्षकका रुपमा श्री सिद्वार्थ माध्यामिक बिद्यालय, सौरपानीबाट शिक्षण सेवामा लाग्नु भएका र हाल श्री सौरपानी सामुदायिक स्मृति आधारभूत बिद्यालय, सौरपानीमा कार्यरत शिक्षक श्री रामकुमार श्रेष्ठज्यूको ३७ बर्षको अल्पायुमा आज मिति २०८०÷०५÷१८ गते दुखद निधन भएकोमा मृतात्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्वाञ्जली’ भन्दै ‘सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बारपाक सुलिकोट गाउँपालिकाभरका शिक्षण संस्थाहरु आज १ दिन शोक बिदा गर्न निर्णयानुसार अनुरोध छ’ भनिएको छ ।
पालिका भित्र ३७ सामुदायिक र २ निजी गरी ३९ बिद्यालयमा करिब ५ हजार बिद्यार्थीहरु अध्ययरत रहेको पालिकाका शिक्षा संयोजक भिमकुमार श्रेष्ठले जानकारी दिए ।



