गोरखा । लगातारको बर्षाका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका–६,काशीगाउँ स्थित यार्सामा पहिरोले एक घर बगाएको छ ।
आइतवार राती बस्ती माथिबाट खसेको पहिरोले स्थानीयबासी भीमबहादुर घलेको घर बगाएको वडाध्यक्ष धनकुमार घलेले जानकारी दिए ।
पहिरोले स्थानिय अन्य ६ वटा घरमा समेत क्षति पुगेको छ । प्रहरी घटना स्थल तर्फ जादै गरेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
पहिरोले घलेको घरमा भित्र रहेका अन्नपात, नगद तथा जिन्सी सवै बगाएर लगेको वडाध्यक्ष घलेले बताए । ‘भिरालो जमिनमा रहेको बस्तीमा बस्तीमाथिको जमिन भाँसिएर पहिरो गएको हो, वडाध्यक्ष घलेले भने, ‘एक्कासी आएको पहिराले घर बगाएपछि घलेको परिवारले घर भित्र रहेका खाने र पकाउने सामाग्री समेत झिक्न पाएनन् ।’
पिडित घलेको परिवारमा ७ जना रहेका छन् । उनको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेको पनि वडाध्यक्ष घलेले जानकारी दिए ।
बिस्थापित परिवारलाई नजिकै रहेको छोरीको घरमा तत्कालका लागि बस्ने व्यवस्था मिलाइएको छ । पहिरो पिडितलाई राहत र पूर्नबासका लागि पहल भइरहेको पनि वडाध्यक्ष घलेले जानकारी दिए ।
पहिरोले कुलोमाथि निर्माण गरिएका तीनवटा सिमेन्टको पुल समेत बगाएको छ । ‘बस्ती नजिकै रहेको कुलोमा बालबालिकाहरुलाई आउजाउमा जोखिम हुने भएकाले सिमेन्टको प्रयोग गरेर ३ वटा साना पुल निर्माण गरिएको थियो, तिनवटै पुल पनि पहिरोले बगाएको छ, वडाध्यक्ष घलेले भने, ‘पुल बगाएपछि बालबालिकाहरुलाई हिडडुल गर्न समेत अहिले जोखिम भएको छ ।


