साँकेतिक तस्बिर
गोरखा । गोरखामा १ सातामा १ हजारभन्दा बढीलाई आँखा पाक्ने रोग देखिएको छ । भाद्र महिनाको पहिलो सातामा मात्रै १ जहार २९२ जनामा आँखा पाक्ने रोग देखिएको हो ।
आँखा पाक्ने रोग सबैभन्दा बढी बिद्यार्थीहरुमा देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए । अर्यालका अनुसार हाल जिल्लामा साउन यता भाद्र महिनाको पहिलो सातासम्म त्यस्ता रोगीको संख्या ४ हजार ६७३ जना पुगेको छ ।
आँखा पाक्ने रोग जिल्लाको ११ वटै स्थानिय तहसम्म फैलिसकेको छ । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार हिजो (बिहीबार) सम्म जिल्लामा ४ हजार ६७३ जनामा आँखा पाक्ने रोग देखिएको छ ।
आँखा पाक्ने रोग सबैभन्दा बढी गोरखा नगरपालिकामा भित्रै देखिएको छ । नगर क्षेत्र भित्र मात्रै करिब २ हजार ११ जनामा मानिसमा देखिएको छ । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा नगरपालिकामा ३१७ जना र लायन्स आँखा अस्पतालमा १ हजार ६९४ जना गरी कुल २ हजार ११ जननमा आँखा पाक्ने रोग देखिएको छ ।
स्थानिय तहमध्ये पालुङटार नगरपालिकामा ८५० जना र सिरानचोक गाउँपालिकामा ७०५ जनामा रोग देखिएको पनि कार्यालयले जानकारी दिएको छ ।
त्यस्तैगरी, बारपाक सुलिकोट गाउँपालिकामा ३३१ जना, गण्डकीमा २७४ जना, भीमसेन थापामा १९२ जना रोगी फेला परेका छन् । त्यस्तै आरुघाटमा १२१ जना, धार्चेमा ८८ जनामा र शहिद लखन गाउँपालिकामा ४६ जनामा आँखा पाक्ने रोग देखिएको छ ।
उता अजिरकोटमा ३३ जना र चुम नुब्रीमा २२ जनामा आँखा पाक्ने रोग देखिएको कार्यालयका फोकल पर्सन अर्यालले जानकारी दिए ।
यो संख्या सरकारी र लायन्स आँखा अस्पतालमा फेला परेको मात्र भएको पनि उनले बताए । निजी स्वास्थ्य संस्थामा र जिल्ला बाहिर गएर उपचार गराएको संख्या भने यसमा समावेश नगरीएको पनि उनले जानकारी दिए ।



