गोरखा । नेपाल सरकारले साउन ३१ गतेदेखी देशैभर जग्गाको कित्ताकाट खुल्ला गरेको भएता पनि गोरखामा भने आजदेखी मात्र खुल्ला गरिएको छ । मन्त्रिपरिषद्ले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै पूर्णरुपमा जग्गा कित्ताकाट खुलेको हो ।
जिल्ला मालपोत कार्यालय गोरखाले सूचना जारी गर्दै गोरखामा पनि जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी गराएको छ । जारी सूचनामा ‘मिति २०८०/०४/३२ मा नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम नेपा सरकार भू–उपयोग नियमावली २०७९ लाई संशोधन गरी भू–उपयोग (पहिलो संशोधन) नियमावली २०८० जारी गरी निश्चित सिमा भित्र जग्गाको खण्डिकरण (कित्ताकाट) खुल्ला गरेको ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ भनिएको छ ।
कार्यालय प्रमुख शिव शर्मा पौडेलले जारी गरेको उक्त सूचना बमोजिम आजदेखी गोरखा जिल्लाका ११ वटै स्थानिय तहमा रोकिएको कित्ताकाट खुल्ला भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले गएको मंगलबारको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको पनि जानकारी गराइएकी थिइन् । मन्त्री श्रेष्ठका अनुसार अबदेखी जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि कित्ताकाट हुने छ ।
आवासीय र व्यापारिक जग्गा ८० वर्गफिटसम्म कित्ताकाट गर्न पाइने, खेतीयोग्य जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइने गरी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो । सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवास र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाहरुको मापदण्ड पनि कायम गर्ने गरी नियमावली आएको छ ।
यसअघि कृषि जमिन उपत्यकामा ५०० वर्गमिटर र तराई र भित्री मधेसमा ६७५ वर्ग मिटरभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो । आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैन थियो ।
गत वर्ष कित्ताकाट रोकिँदा त्यसको असर राजस्व असुलीमा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालकै अगुवाइमा गत वैशाखमा कित्ताकाट खुलाउने निर्णय भएको थियो । अब भने देशैभर कित्ताकाट पूर्णरुपमा खुल्ला भएको छ ।





















