गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको जिल्ला इन्चार्ज र संयोजकमा हेरफेर भएको छ । पार्टीको आइतबार बसेको गण्डकी प्रदेश समितिको सातौ पूर्ण बैठकले गोरखा जिल्ला ईन्चार्जमा दीपक कोइराला र संयोजकमा दीपक तिमिल्सिनालाई जिम्मेवारी प्रदान गरेको हो ।
प्रदेश सचिव जगन्नाथ खनालका अनुसार यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहेका बिष्णुप्रसाद भट्टलाई पार्टीले केन्द्रीय सदस्यमा चयन गरेपछि प्रदेश समितिले तिमिल्सिनालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । तिमेल्सिना गण्डकी गाउँपालिकाको अध्यक्ष हुन् ।
त्यस्तैगरी, यस अघि गोरखा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका अमर तमुलाई नवलपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिएपछि गोरखा जिल्ला पार्टीको इन्चार्जमा भने यसअघि पोखरा महानगरपालिकाका इन्चार्ज रहेका कोइरालालाई माओवादी केन्द्रले गोरखाको जिम्मवारी दिएको माओवादी पार्टी कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रले यहीँ भदौ १६, गतेदेखि सञ्चालन गर्न लागेको ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लाई सफल बनाउन गण्डकी प्रदेश भित्रका सवै जिल्लाको इन्चार्जको जिम्मेवारीमा हेरफेर गरेको सचिव खनालले जानकारी दिए ।
त्यस वाहेक प्रदेश भित्र जिम्मेवारीमा रहेका पार्टीका केन्द्रीय सदस्यहरुलाई अन्तर जिल्ला र प्रदेश समितिका सदस्यहरुलाई अन्तर पालिकामा जिम्मेवारी तोकेको उनले बताए ।
परिवर्तन गरिए पछि लमजुङमा आशा खनाल, पर्वतमा बलावती शर्मा, तनहुँमा शैलेन्द्र घिमिरे, मनाङमा बुद्धिराम गुरुङ, म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।


