गोरखा । साउन महिना सकिदा गोरखा जिल्लाको विभिन्न क्षेत्रमा ८० प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । अघिल्ला बर्ष यही समयमा रोपाइँ सम्पन्न भइसकेको थियो । तर यसबर्ष भने पानीका कारण रोपाइँ गर्न ढिलाई भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।
मनसुन ढिलाइ भएको र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण रोपाइँ गर्न ढिलाई भएको उनको भनाई छ । ‘यस पटक मनसुन ढिला गरी सुरु भयो, ढिला गरी मनसुन सुरु हुनु र बर्षा कम हुँदा मूल फुट्न ढिला पनि भयो, उनले भने, ‘पानी ढिला गरी परेकाले टारी खेतहरुमा रोपाइँ गर्न ढिलाई भयो ।‘
जिल्लामा ११ हजार २६६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको भएपनि साउनको अन्तिम दिनसम्म करिब ९ हजार ५०० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको केन्द्र प्रमुख अधिकारी बताए । मुख्य गरि जिल्लाको पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका लगायतका क्षेत्रमा आकाशेपानीको भरमा रोपाईँ गनुपरेको उनको भनाई छ ।
‘कुलो तथा सिञ्चाईको सुविधा भएका फाँट तथा खेतहरुमा भने साउनको दोस्रो साता तिरै रोपाई सकिएको थियो, प्रमुख अधिकारीले भने, ‘त्यस बाहेकका क्षेत्रका किसानहरु रोपाइँका लागि आकाशेपानी कुर्न पर्ने बाध्यताले ढिलो भएको हो ।’
जिल्लाको छेपेटार, भुसुण्डे, ज्यादुल, आरुघाट, ध्यालचोक, सिरानचोक, र ध्याम्पेसाल लगायतका स्थानहरु धान खेतीको हुने गरेको कृषि ज्ञान केन्द्र गोरखाले जानकारी दिएको छ ।




















