गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकाले पालिका भित्र सार्वजनिक कार्यक्रमहरुमा खादा र प्लास्टिकजन्य सामाग्री प्रयोग गर्न बन्देज गरेको छ । पालिकाले पालिका भित्रका हुने सवै सार्वजनिक कार्यक्रमहरुमा बाहिरबाट आयात गरेर ल्याइने खादा र प्लास्टिकजन्य बस्तु प्रयोगमा आइतबारदेखि बन्देज लगाएको हो ।
गाउँपालिका अध्यक्ष दीपक देवकोटाका अनुसार ‘स्थानीय रुपमा कृषकहरुले उत्पादन गरेका फूलको प्रयोगमा जोडदिन बाहिरबाट हुने आयातलाई रोक्न निर्णय गरेको हो ।
अनावश्यक रुपमा खादाको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलहरुले बजार नपाएर खेर जाने गरेको उनको भनाई छ । खादा र प्लास्टिकजन्य सामाग्री भित्र्याउदा पालिका भित्रको रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथामिकता दिने पालिकाको नीति तथा योजना अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष देवकोटाले बताए ।
‘अजिरकोट गाउँपालिका प्राकृतिक रुपमा एक भरिपुर्ण गाउँपालिका भएकाले यहाँको जंगलमा सप्तरङगी लालीगुरास लगायतका अन्य बिभिन्न प्रकारका फूलहरु प्रसस्त रुपमा पाईन्छन, अध्यक्ष देवकोटाले भने, ‘तिनै उत्पादित फूलहरुको अव भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउाँपालिकाले चालेको पहिलो र महत्वपूर्ण निर्णय पनि हो ।’
गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमै पालिका भित्रका सार्वजनिक कार्यक्रमहरुमा खादा र प्लाष्टिकजन्य सामाग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको छ । सोही बमोजिम कार्यपालिकाको बैठक बसेर पालिका भित्र खादा र प्लाष्टिकजन्य सामानमा पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो ।
निर्णयसंगै अव सार्बजानिक कार्यक्रममा प्लास्टिकका बोतलको पानी र अन्य प्लाष्टिकजन्य सामानको प्रयोग पनि गर्न नपाइने भएको छ । यो निर्णयले पालिका भित्रको पर्यावरण सुरिक्षत राख्न तथा अजिरकोटलाई स्वच्छ, सफा र हराभरा बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।



