गोरखा । गोरखामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित भण्डारी गाउँमा विवाहको बिषयमा विवाद हुँदा खुकुरी प्रहारबाट स्थानीय ४५ बर्षका बुद्धबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार ‘घाइते गुरुङको बाँया कानभन्दा तलको भागमा गम्भीर चोट लागेको छ । घाईतेको अहिलेका काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
केटा र केटी पक्षका परिवार बिच पूर्वसहमति अनुसार ३० गते राती बाह्रबजे मध्यरातको समयमा विवाहका लागि दुहली लिन गएकोमा केटीले विवाह गर्न नमानेपछि दुई पक्ष बिच विवाद भएको थियो ।
विवाद बढ्दै जाँदा केटी पक्षका रामबहादुर गुरुङले कुखुरी झिकेर हान्न खोजेपछि रोक्ने क्रममा बुद्धकुमार माथि खुकुरी लागेर गम्भीर घाइते भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
भण्डारी गाउँका २० बर्षकी युवती र सिम्भुका ३१ बर्षका युवाबिच परिवारले विवाहको टुङ्गो लगाएपछि केटा पक्ष दुहली लिन पुगेका थिए ।
खुकरी प्रहार गर्ने रामबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।



