गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले गतबर्ष राहदानीबाट मात्रै करिब साढे ७ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयले राहदानीबाट ७ करोड ४८ लाख ३७ हजार ३५० रुपैयाँ संकलन गर्न सफल भएको हो ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार आर्थिक बर्ष २०७९/०८० मा १७० जना नाबालक सहित १४ हजार ४३५ जनाले राहदानी बनाएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए । उनका अनुसार पहिलो त्रैमासिकमा १ हजार १६३ जना महिला र २ हजार ७ जना पुरुष गरी ३ हजार १७० जनाले राहदानी बनाएका थिए ।
त्यस्तैगरी, दोस्रो त्रैमासिकमा १ हजार ३१६ जना महिला र १ हजार ९९० जना पुरुषले गरी ३ हजार ३०६ जनाले राहदानी बनाएका थिए । तेस्रो त्रैमासिकमा १ हजार २८५ जना महिला र २ हजार १९६ जना पुष गरी ३ हजार ४८१ जना तथा चौथो त्रैमासिकमा १ हजार ७०५ जना महिला र २ हजार ६०३ जना पुरुष गरी ४ हजार ३०८ जनाले राहदानी बनाएको प्रजिअ भुषाले जानकारी दिए ।
पछिल्लो समय राहदानी बनाउनेको संख्यामा महिलाको संख्या पनि उल्लेखनिय रुपमा बृद्वि भएको छ । प्रजिअ भुषालका अनुसार अध्ययनकालागि विदेश जानेहरुमा महिला पनि भएकाले राहदानी लिनेको संख्यामा बृद्वि भएको बताए ।
अघिल्लो बर्षको तथ्यांकलाई हेर्ने हो भने १४ हजार ४३५ जना मध्ये ५ हजार ४६९ जना महिलाले राहदानी लिएको देखिन्छ ।



