गोरखा । अबिरल बर्षका कारण त्रिशुली नदीमा आएको बाढीले गण्डकी गाउँपालिकाका जोड्ने २ वटा झोलुङ्गे पुल तत्काल निर्माण गर्न पूर्वाधार विभागको ध्यानकर्षण गराइएको छ ।
गाउँपालिका अध्यक्ष दीपक तिमेल्सिना (साकार) सहितको टोलीले मंगलबार बिभागमा पुगेर निर्देशन भरतप्रसाद अर्याललाई क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न आग्रह गरेको हो ।
पालिकाको आग्रह प्रति विभाग सकारात्मक रहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । बिभागले तत्काल क्षतिग्रस्त पुल पुनःनिर्माणका लागि लागत स्टमेट तयार गर्न प्राविधिकहरुको टोली गोरखा पठाउने निर्णय गरेको छ ।
आइतबार मध्यरातमा आएको बाढीले गाउँपालिकाको–६ स्थित भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाट माथिको पुल तथा गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङे पुलमा क्षति पुगेको थियो ।
पुलमा क्षति पुगेपछि दुवै पालिकाका नागरिकहरुलाई दैनिक ओहोर दोहोर गर्न समस्या भएको गाउँपालिका जनाएको छ ।


