फाईल तस्बिर
गोरखा । गोरखामा पछिल्लो २ बर्षमा नागरिकता बनाउनको संख्या पुरुषभन्दा महिला बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले उपलब्ध गराएको रकर्ड अनुसार नागरिकता बनाउनेमा पुरुषभन्दा महिला अगाडी देखिएको हो ।
आर्थिक बर्ष २०७९/०८० मा पुरुषको तुलनामा ४१५ जना महिलाले प्रशासन कार्यालयबाट नागरिकता लिएको देखिन्छ । कार्यालयले दिएको तथ्यांक अनुसार गएको आर्थिक बर्षमा ५ हजार ४६४ जनाले बंशजको आधारमा, १० जनाले बैवाहिक अंगीकृत र ५ हजार ७४८ जना नागरिकताको प्रतिलिपि लिएको गरी कुल ११ हजार २२२ जनाले नागरिकता लिएको देखिन्छ ।
सोही आर्थिक बर्षमा पुरुष तर्फ ४ हजार ६१२ जनाले बंशजको आधारमा र ६ हजार १९५ जनाले प्रतिलिपि गरी कुल १० हजार ८०७ जना पुरुषले नागरिकता लिएको देखिन्छ ।
आर्थिक बर्ष २०७८/०७९ मा पनि गोरखामा पुरुषलेभन्दा महिलाले नै बढी नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूषालले जानकारी दिए । उनका अनुसार आर्थिक बर्ष पुरुष तर्फ ५ हजार ५७९ जनाले बंशजको आधारमा र ४ हजार ३५५ जनाले प्रतिलिपि सहित ९ हजार ९३४ जनाले नागरिकता निकालेका थिए भने महिला तर्फ ६ हजार ५१० जनाले बंशजको आधारमा, ८ जनाले बैवाहिक अंगीकृत र ३ हजार ६६७ जनाले प्रतिलिपि गरी कुल १० हजार १८५ जनाले नागरिकता लिएको छ ।
केही बर्ष यता महिलाको नाममा बैंक खाता, सहकारी सदस्य, जग्गा जमिन तथा विदेश जानेको संख्यामा पनि बढोत्तरी भएका कारण पनि नागरिकता लिनेको संख्यामा बृद्वि भएको हुन सक्ने प्रजिअ भूषालले बताए ।




















