काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग पुरा गरेर मात्र बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश हुने बताएका छन् ।
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले उक्त कुरा बताएका हुन् ।
साउन ३ गते फिल्ड कार्यालय उद्घाटन गरिसकेका प्रधानमन्त्रीले आयोजनाबाट प्रभावित स्थानीयबासीले मुआब्जालगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरुलाई समेत विश्वासमा लिएर अगाडि बढाउने कुरा गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तैगरी, त्रिशुली नदीले क्षति गरेको गोरखाको धवादीघाटको झोलुङे पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको बताएको भन्दै अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशुली नदीमा आइतबार राती आएको बाढीले क्षति गरेको थियो ।
भेटका क्रममा जिल्लाका अन्य विकास निर्माणलगायतका विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताए ।
तस्बिर प्रदिपराज वन्त



