गोरखा । गोरखा नगरपालिका–७, सतिपिपल स्थित एक घरबाट बरामद गरिएको बहुमुल्य ‘क्वार्ज किष्टल’ गोरखा दरवार परिसरमा भगवती शिलाको रुपमा प्रतिस्थापन गर्ने गोरखा नगरपालिकाले निर्णय गरेको छ ।
अलौलिक शिलालाई बरामद् गरिएको घरका परिवारले परापूर्वकालदेखि कुल देवताको मानेर पुजा गर्दै आएको भन्दै यसलाई गोर्खाली जनताले पनि शक्तिको प्रतिकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसली माया थोकर पुनःले जानकारी दिइन ।
गोरखा नगरपालिका गोरखा नगरप्रमुख कृष्णबहादुर रानामगर सहितका जनप्रतिनिधिहरु तथा जिल्ला भित्रका १७ वटा भन्दाबढी संघसस्था, घरधनी र बुद्धिजीवीहरुको आइतवार सर्वपक्षीय बैठक बसेर ‘क्वार्ज किष्टल’ लाई गोरखा दरबार परिषर भित्रै सुरक्षित साथ भगवती शिलाको रुपमा तत्काल विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय बैठकले गरेको उनले बताइन ।
‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनलाई समेत थप आर्कषण गर्छ, उनले भनिन, ‘गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकको रुपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सवैपक्ष बसेर दरबार परिषरमा नै प्रतिस्थापन गर्ने निर्णय गरिएको हो ।’
बरामद् गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने बिषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहाना र भावना अनुसार नै गोरखा दरबार परिसरमा राख्न स्थानीय सरकार सहित सरोकारवालाहरु सहमत भएको उपप्रमुख थोकरले बताइन ।
‘खानी तथा भूगर्भ विभागमा राखेपनि पनि राज्य कै हुने र गोरखा दरबारमा राखेपनि पनि राज्यकै सम्पत्तिको हुने हो, उनले भनिन, ‘राज्यले नै सुरक्षा दिएर राखिने भएकोले क्वार्र्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखा स्थित संघसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाहरुको पनि चाहना छ ।’
आफ्नो घरबाट बरामद गरिएको उक्त ‘क्वार्ज क्रिष्टल’लाई गोरखकाली मन्दिर परिषर भित्रै नै राख्नुपर्ने र समय–समयमा आफुहरुले पुजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको पनी उनले बताइन ।
सर्वपक्षीय बैठकमा औलोकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग, पुरातत्व विभागमा पत्राचार गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिइन ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखालाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारीका लागि गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिइन ।
जिल्ला प्रसासन कार्यालय गोरखाको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुङ्गा ‘क्वार्ज किष्टल’ भएको पुष्टी गर्दै विभागमा पठाउन प्रसासनलाई सुझाव दिएको थियो ।
भूगर्भविद्हरुको टोलीले २ दिन लगाएर गरेको उक्त ढुङ्गाको परीक्षण गरेको थियो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्यगर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्र मार्र्फत आग्रह गरेको थियो ।
परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमुल्य रत्नपत्थर ‘क्वार्ज क्रिष्टल’ भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकोमा बरामद गरिएको ढुङ्गा ७ औं नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए ।
उक्त ढुङ्गा ५२ किलो ३३० ग्राम रहेको रहेको छ । गएको असार १४ गते प्रहरीले उक्त ढुङ्गा सतिपिपल स्थित स्थानीयबासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।



