तस्बिर सामाजिक सञ्जाल
गोरखा । केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको हो ।
पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सडक माथिबाट ठूला–ठूला ढु¬ङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिए । पहिराले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएको छ ।
सडक अवरुद्ध भएपछि आरुघाटबाट घाटबेँसी हुदै बेनिघाट–काठमाण्डौ ओहोर–दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् । अवरुद्ध सडक सुचारु गर्न आवश्यक पहल भइरहेको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए ।
पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाडौँ तथा चितवनलगायतका सहरमा छुट्ने सवारी साधान पनि अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन् ।


