गोरखा । गोरखा जिल्लाको ११ स्थानिय तह मध्ये ५ वटाले मात्र अहिलेसम्म बजेट पारित गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को लागि बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक, भीमसेन थापा र सहिद लखन गाउँपालिकाको ३ अर्ब ८ करोड ६३ लाख ५८ हजारको बजेट पारीत गरेका हुन् ।
जिल्लाका सबै स्थानिय तहले असार १० गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । तर ५ वटा स्थानिय तहले भने सोही दिन नै बजेट पारीत गरेका थिए ।
बजेट पारीत गरेको सिरानचोक गाउँपालिकाले आगामी आव २०८०/०८१ का लागि कूल ७९ करोड ८४ लाख ५५ हजार ६०० रुपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए । यो अहिलेसम्मकै सार्वजनिक भएको सर्वाधिक बजेट हो ।
शहिदलखन गाउँपालिकाले पनि सोही दिन नीति तथा कार्यक्र्रम संगै बजेट पारीत गरेको थियो । सार्वजनिक भएको बजेट मध्ये जिल्लामा दोस्रो सर्वाधिक बजेट पारित गरेको शहिदलखनले ६३ करोड २० लाख १० हजारको बजेट पास गरेको पालिका अध्यक्ष रमेशबावु थापा मगरले बताए ।
तेस्रो स्थानमा बजेट पारित गरेको बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ६० करोड ३९ लाख ६९ हजारको बजेट पास गरेको पालिका अध्यक्ष विण्णुप्रसाद भट्टले जानकारी दिए ।
असार १० गते नै नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको भीमसेन थापा गाउँपालिकाले भने ५५ करोड ८४ लाख ३० हजार ४०० को बजेट पारित गरेको अध्यक्ष लोकप्रसाद बङ्जरा (अक्कल) ले जानकारी दिए ।
उता नीति तथा कार्यक्रम संगै बजेट पारित गरेको अजिरकोट गाउँपालिकाले भने आगामी आर्थिक बर्षको लागि ४९ करोड ३४ लाख ९३ हजारको बजेट पारित गरेको अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
जिल्लाको ११ स्थानीय तहमध्ये गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको छ ।
गोरखा नगरपालिकाले भने आगामी बर्षका लागि कूल १ अर्ब ३२ लाख ६५ हजारको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
त्यस्तैगरी, पालुङटार नगरपालिकाले ८३ करोड ८७ लाख २५ हजार, आरुघाट गाउँपालिकाले ५८ करोड १६ लाख १७ हजार ७०० को बजेट गाउँसभामा पेश गरेको अध्यक्ष राजु गुरुङ बताए ।
धार्चे गाउँपालिकाले ४८ करोड ९१ हजार ५०० बराबरको बजेट ल्याएको अध्यक्ष लक्ष्मण गुरुङले बताए भने गण्डकी गाउँपालिकाले ६१ करोड ७२ लाख बजेट गाउँसभामा पेश गरेको अध्यक्ष दिपक तिमिल्सिनाले बताए ।
गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरुले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन् ।
उता उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले पनि आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्न आजदेखि गाउँसभा सुरु गरेको छ । गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।



