साँकेतिक तस्बिर
गोरखा । राजधानीको बुढानिलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रकम हिना मिना गरेको आरोपमा गोरखा पालुङटारका रामकुमार श्रेष्ठ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठ सहितको समूहले उक्त सहरकारीबाट ८ करोड १८ लाख ८९ हजार ७९५ रूपैयाँ हिनामिना गरेको भन्दै संस्थाका कार्यकारी अध्यक्ष सहित ६ जना पदाधिकारीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ च्याङली घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।
सहकारीमा बचत कर्ताहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाई बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनरासीको अपचलनलाई ढाकछोप गर्ने गरी संस्थाका पदाधिकारीहरुले बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको हुँदा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।



