एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युद्ध प्रभावित युक्रेनको अर्थतन्त्र सुधारका लागि १५ अर्ब ६० करोड डलर ऋण दिने घोषणा गरेको छ ।
४ वर्षीय यो ऋण कार्यक्रमको उद्देश्य सूक्ष्म अर्थतन्त्र र वित्तीय स्थिरताका साथै युद्धले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण रहेको आईएमएफले जनाएको छ ।
आईएमएफले विज्ञप्तिमा भनेको छ, ‘युद्धले युक्रेनको अर्थव्यवस्थामा संकट देखिएको छ, अघिल्लो वर्षको भन्दा आर्थिक गतिविधिमा ३० प्रतिशतले गिरावट आएको छ, जसले गरीबी ह्वात्तै बढेको छ।’
४८ महिने विस्तारित कोष सुविधालाई आईएमएफ बोर्डले पनि स्वीकृत गरिसकेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषकी उपप्रवन्धक गीता गोपिनाथले भनेकी छन्, ‘यस कार्यक्रमको उद्देश्य वित्तीय स्थिरता र युद्धले धरासयी क्षेत्रको संरचनात्मक सुधार हुनेछ ।’
आईएमएफले असाधरण रूपमा गम्भीर संकटको सामना गरिरहेका देशलाई ऋण उपलब्ध गराउनेगरी हालै आफ्नो नीति परिमार्जन गरेको थियो ।



