गोरखा । मनकामना केबलकार यही शनिबारदेखी सञ्चालनमा आउने भएको छ । मर्मतको काम सातादिन अगाडी नै सम्पन्न भएको भन्दै भाद्र २५ गते शनिबारदेखी केबलकार सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठले जानकारी दिए ।
एनालग प्रविधिमा सञ्चालनमा रहेको मनकामना केबलकार डिजिटल प्रणालीमा लान ६ साता बन्द गरेर मर्मत गरिएको थियो । नियमित सेडुल अनुसार असोज १ वा २ गते सञ्चालनमा आउने भएता पनि काम चाढै नै सकिएकोले त्यस अगावै सञ्चालनमा ल्याउन लागिएको नायब महाप्रबन्धक उज्वल शेरचनले बताए ।

साउन २३ गतेदेखि बन्द गरेर अष्ट्रेलियाबाट आएका प्राविधिकहरुले काम गरेका थिए । ति प्राविधिकहरुले मर्मत अवधीमा केबललाई घुमाउन प्रयोग भएको मुख्य बेरिङ फेर्ने काम सकिएको छ भने कारका सबै ग्रिप फेर्ने र टावर नम्बर २, ३, ५ र ६ नम्बरको टावरको ओभरहल सर्भिसिङको काम पनि सकिएको साथै कारका सबै ह्याङगरहरु चेकजाँच काम सम्पन्न भएकोले भाद्र २५ गते शनिबारदेखी सञ्चालनमा ल्याउन लागिको केबलबार प्रशासनले जनाएको छ ।
सञ्चालनको २ दशक पार गरेको केबुलकारले मुख्य उत्पादक कम्पनीले विश्व बजारमा एनालग प्रविधि हटाउदै डिजिटल प्रविधि ल्याएकोले सोही अनुसार मनकामना केबुलकारलाई पनि परिवर्तन गरिएको सञ्चालक श्रेष्ठले बताए ।
०५५ सालमा मंसिर ८ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको केबुलकारले यो अवधीमा १ करोड ६४ लाख तिर्थ यात्रीले केबुलकार प्रयोग गरेको नायब महाप्रबन्धक शेरचनले जानकारी दिए ।
केबलकार डिजिटल प्राविधिमा जान यो दोस्रो चरणको मर्मत कार्य सम्पन्न भएको हो । अब अन्तिम चरण काम बाँकी भएकोले सन २०२३ भित्रै मनकामना केबलकार डिजिटल प्रविधीमा सञ्चालनमा आउने छ ।


