गोरखा । गोरखामा अब नेपाल एकिकरण तथा राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाह संग बसेर तस्बिर लिने पाईने भएको छ । सदरमुकाममा रहेको गोरखा संग्रालयमा आजदेखी ‘प्रतिबिम्वमा श्री ५ पृथ्वीनारायण शाह’ कार्यक्रम लागु भएकोले पृथ्वीनारायण शाहको भेषमा सजिएका ब्यत्ति संग तस्बिर लिन पाउने ब्यवस्था गरिएको हो ।
ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिले राजा पृथ्वीनारायण शाह र कालु पाँडेको प्रतिविम्बको ब्यवस्था गरे संगै गोरखा घुम्न आउनेहरुले उनीहरु संग बसेर तस्बिर लिन पाउने ब्यवस्था गरिएको समितिका सल्लाहकार राजुबावु श्रेष्ठले जानकारी दिए ।

ईतिहासमा धनी रहेको गोरखाले जिल्ला भित्र आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तात्कालिन राजा पृथ्वीनारायण शाह र कालु पाँडेको बिषयमा जानकारी पनि हुने र उनीको प्रतिविम्ब संग बसेर तस्बिर लिन पनि पाउने दुवै अवशर पाउने बिकास समितिले जनाएको छ ।
प्रतिविम्ब राख्नु पूर्व बुधबार ठुलो आँगनबाट निस्किएको झाँकीले तिनधारे–पाटेचौर–अस्पतालमार्ग–लोकतान्त्रिक चोक–कालिमाटी बजार–शक्तिचोक–पुरानो बसपार्क–पदेली हुदै पुनः ठुलो आँगन पुगेर संग्रालय प्रवेश गरेको थियो ।

राजा पृथ्वीनारायण शाहको प्रतिविम्बका रुपमा स्थानिय ओमबहादुर श्रेष्ठले दैनिक ७ घण्टा राजशी भेषमा संग्रालयमा रहने छन् । राजाका सहयोगि कालु पाँडे समेत उनको साथमा रहने छन् ।
कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथी गोरखा नगरपालिका प्रमुख कृण्णबहादुर रानामगरले अन्य जिल्लाको तुलनामा गोरखा जिल्ला ईतिहासमा अगाडी रहेको भन्दै अब ईतिहासलाई बेचेर पनि जिल्ला भित्र पर्यटक भित्राउनुपर्ने समय आएको बताए । बिकास समितिले गरेको कामको प्रसंसा गर्दै प्रमुख रानाले भोलीका दिनमा नगरपालिकाबाट आवश्यक सहयोग रहने पनि बचन बद्वता ब्यत्त गरे ।

प्रतिविम्ब संग तस्बिर लिन समितिले शुल्क निर्धारण गरेको छ । जस अनुसार एकल स्थानिय र बिद्यार्थीलाई २० रुपैयाँ, एकल पर्यटक ५० रुपैयाँ, सामुहिक १०० रुपैयाँ र पोशाक लगाएको ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

कार्यक्रममा गोरखा नगरपालिका उपप्रमुख मसली मायाँ थोकर पुनः, गोरखा नगरपालिका–६ का वडाध्यक्ष राजेन्दबावु जोशी (दिलिप), वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर राना, ८ का वडाध्यक्ष ऋषिराम खत्री, जेष्ट नागरिक केन्द्रिय सदस्य एवं गोरखा जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, समाजसेवी घिरजबहादुर मास्के स्थानियहरुको उपस्थिती रहेको थियो ।
राजा पृथ्वीनारायण शाहकाे प्रतिविम्व बनेका श्रेष्ठ बर्षेनी पृथ्वी जयन्तीमा यस्तै भेषभुषामा सजिएर बजार परिक्रमा गर्ने गर्दछन् ।



