गोरखा । गोरखाको सिद्व लखनमा भ्यू टावर निर्माण सम्पन्न भएको छ । शहिद लखन गाउँपालिकाको सिद्व लखन क्षेत्रमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भ्यू टावरको गण्डकी प्रदेश सभाका सांसद लेखबहादुर थापाले उद्घाटन गरेका थिए ।
गण्डकी प्रदेश सरकारको ‘एक पालिका एक पर्यटकिय गन्तव्य’ कार्यक्रम अन्र्तगत गोरखाको शहिद लखन गाउँपालिकामा रहेको बक्रेश्वरी मन्दिर परिषरमा ५१ लाख लागतमा सुन्दर भ्यु टावर निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
‘प्रदेश सरकारको ४३ लाख ५४ हजार २८७ रुपैया र स्थानीय उपभोक्ता समितिको तर्फबाट करिब ८ लाख रुपैया बराबरको जनश्रमदान सहित टावरको निर्माण भएको हो ।
२०७७ जेठ १२ गते निर्माण सम्झौता भएको टावर गएको असारमा निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ । टावरबाट विभिन्न जिल्लाका हिम श्रृखलाका साथै सुर्यदय र सुर्यअस्तको समेत राम्रो संग अबलोकन गर्न सकिने छ ।
गोरखाका उत्त बक्रेश्वरी मन्दिरमा बोली नफुटेका वा बोली स्पस्ट नभएका बालबालिकाहरुको नाममा भाकल गरी पुजाआजा तथा दर्शन गरेको खण्डमा बोली फुट्ने धार्मिक बिश्वास रहदै आएको छ ।



