गोरखा । नेपालकै पहिलो मनकामना केबलकार मर्मत संभारका लागी ४ दिन बन्द हुने भएको छ । सञ्चालनको २४ बर्षमा नयाँ प्रविधि जडानका लागी ४ दिन बन्द गर्न लागिएको केबलकार प्रशासनले जनाएको हो ।
एनालग प्रविधिमा सञ्चालित केबलकार केही बर्ष भित्रै डिजिटल प्रविधिमा सञ्चालन हुने भए पछि पहिलो चरणमा टावर गियर मर्मतका लागी भोली आइतबारदेखी बुधबारसम्मका लागी बन्द गरिएको स्टेशन म्यानेजर उज्वल शेरचनले बताए ।
केबलकार संचालनको लामो अवधी संगै अहिले एनालग कनेक्ट प्रणालीबाट केबलकार केही बर्ष भित्रै डिजिटल प्रणालीमा स्तरोरोन्नती गर्न लागिएको संञ्चालक मध्येका राजेशबावु श्रेष्ठले बताए । ‘यो प्रणाली विश्वभर नै पुरानो हुन थाल्यो । हामी तत्कालै नयाँ प्रविधिमा जादै छौ’ उनले ‘एनालगबाट डिजिटलमा जाने सबै प्रकृया पुरा भएको र आगामी बर्ष भित्रै केबलबार डिजिटल प्रणाली मार्फत सञ्चालनमा आउने’ भए पछि केही सामान परिवर्तन गर्न ४ दिन बन्द गरिएको जानकारी दिए ।
एनालगबाट डिजिटल प्रणालीमा लान मनकामना दर्शन प्रालिले ३० करोड रुपैयाँ खर्च गर्न लागेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
अहिलेको प्रविधि अनुसारको विश्व बजारमा उपकरण पाउन समस्या हुन थाले पछी केबलकार नयाँ प्रविधिमा जान लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
केबलकारमा भएका सामानहरु विभिन्न चरणमा परिवर्तन गर्नु पर्ने भएका कारण पहिलो चरणमा गिएर बक्स र १० नम्बर टावरको मर्मत गर्न लागिएको हो । मर्मत संभार लगत्तै बिहिबार अर्थात पौष ८ गते बिहानैदेखी केबलकार सञ्चालनमा आउने भएका कारण यात्रु तथा भक्तजनलाई कुनै समस्या नहुने स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिए ।
मनकामना दर्शन प्रालि मार्फत २०५५ साल मंसिर ८ गतेबाट संचालनमा आएको केबलकार २४ बर्षमा प्रवेश गरेको छ । यो अवधिमा १ करोड ५९ लाख ३७ हजार ६७९ जनालाई सफल यात्रा गराएको केबल कार प्रशासनले जानकारी दिएको छ ।




















