सुर्खेत । आज असोज १ गते सङ्क्रान्तिका दिन । सुदूरपश्चिम प्रदेशमा आज ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ ।
हरेक वर्षको असोज १ गते यहाँका ७ जिल्लामा परापूर्व कालदेखी नै बुढी पोल्ने पर्व मनाइने चलन छ ।
कथन अनुसार राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा आज ‘बुढी पर्व’ मनाउने चलन चलि आएको हो । आजको दिन यहाँ धुमधामका साथ यो पर्वलाई मनाइने गरिन्छ ।
आजको दिन भदौ १ गते बाटाको बिच भागमा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ । उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने प्रचलन रही आएको छ ।
बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन समेत रहेको छ ।
यसैगरी बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ ।
आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको छ ।




















