गोरखा । उत्तरी गोरखाको नामरुङमा पहिलो पटक बिदेशी स्याउ उत्पादन सुरु भएको छ । चुमनुब्री गाउँपालिका ४ नामरुङ्गको पोर भन्ने स्थानमा ईटालीबाट आयात गरीएको स्याउले उत्पादन दिन थालेको हो ।
चुमनुब्री कृषक समूहले गत बर्षको असारमा इटालिबाट ल्याईएको गोल्डन, फुजी, गाला, रेड डेलीसेस र किंग डेलिसेसका बिरुवाले उत्पादन दिन थालेको वडाध्यक्ष पेमा डुन्डुप लामाले बताए । ‘गत बर्षका असारमा रोपेको थियो । अहिले बोटमा रातै स्याउ फलेको छ’ वडाध्यक्ष लामाले भने ।
स्थानिय लाक्पा डुन्डुप लामा सहित ७ जनाको टोलीले नामरुङको पोर भन्ने स्थानमा रहेको जमिन भाडामा लिएर गत बर्ष इटालियन स्याउ रोपेका हुन् । प्रदेश सरकारको ७० प्रति अनुदानमा उत्त स्थानमा ४ हजार ३७० बोट स्याउ रोपिएको थियो ।
जस मध्ये ११४ वटा बोट मरे पनि अरु सबै बोट हुर्किए फल दिन थालेको समूहका लाक्पा डुन्डुप लामाले बताए । ‘इटालीबाट ल्याएर खच्चडबाट बिरुवा ढुवानी गर्दा केही बोट मरेको’ भन्दै ‘बाँकी सबै बोटमा स्याउ फल्न थालेको’ उनले बताए ।
एउटै बोटमा २० केजी सम्म स्याउ फलेको तर हामीले बोटले धान्न गारो हुन्छ भनेर छाटीएको छ । पहिलो बर्ष बोटले ५ केजी सम्म स्याउ धान्न सक्ने भएका कारण बढी भएको स्याउ टिपेर फालिएको छ । ‘अघिकासं बोटमा धान्नै नसक्ने गरी स्याउ फलेको थियो । तर हामीले स्याउको बोट हेरेर बढीमा ५ केजी सम्म फल रहने गरी काटछाट गरेका छौ’ लामाले भने ।
उत्त क्षेत्रमा स्थानिय जातको स्याउ उत्पादन हुदै आएको भएता पनि बिदेशीबाट आयात गरेर फरक प्रजातीको स्याउ खेती गरिएको यो नै पहिलो पटक हो । स्याउले पहिलो बर्ष नै राम्रो संग फल लागेकोले राम्रो आम्दानी हुने समूहको आशा राखेको छ ।
३०० रोपनी जमिन भाडामा लिएर काम सुरु गरिएको भएता पनि स्याउका बिरुवा १०० रोपनी क्षेत्रफलकालागि मात्र पुगेकोले यो बर्ष अरु स्याउका बोटहरु थप्ने पक्षमा समूह पुगेको छ ।
हेर्देमा खाउ खाउ जस्ता भई सकेका स्याउहरु केही बोटमा भने २०० वटा सम्म दाना लागेको समूहले जानकारी दिएको छ ।
स्याउलाई बन्यजन्तुबाट जोगाउन तारबार गरिएको छ । स्याउ फार्म भित्र अहिले दैनिक ८ जनाले नियमीत रुपमा काम गर्दै आएको छ ।
यातायातले नछोएको उत्त स्थानमा उत्पादित सबै स्याउ खच्चड वा हेली मार्फत मात्र ढुवानी गर्न सकिन्छ । बेनीघाट–आरुघाट–लार्के सडकले छुने उत्त स्थानमा सडक बनेको खण्डमा यातायातबाट ढुवानी गर्न सहज हुने छ ।
तर यस पटक उत्पादन भएको स्याउ खच्चड मार्फत ढुवानी गर्ने गरी काठको बाकस बनाउन थालिएको समूहले जानकारी दिएको छ ।
हेली मार्फत ढुवानी गर्न मिल्ने गरी स्याउ बारी भित्रै हेलिप्याड निर्माण गरिएको छ । त्यस्तै गरी अहिले स्याउलाई जोगाइ राख्नकालागि कोल्डस्टोरको समेत निर्माण भई रहेको छ ।
गोल्डन, फुजी, गाला, रेड डेलीसेस र किंग डेलिसेस नेपाली बजारमा प्रति केजी ३०० देखी ५०० सम्म बिक्री हुदै आएको छ । समूहले यसपाल उत्पादन गरेको स्याउ गोरखा र छिमेकी जिल्लामा प्रति केजी २५० रुपैयाँमा बिक्री गर्ने लक्ष्य राखेको छ ।
समूहले स्याउ खेतीकालागी १ करोड २० लाख खर्च भएको जनाएको छ ।


























