गोरखा । गोरखा बजार क्षेत्रमा मास्क नलगाई हिड्ने २१ जना कारवाहीमा परेका छन् ।
कोरोना महामारी बिच संक्रमण फैलन सक्ने संभावनालाई मध्येनजर गर्दै मास्क लगाउन सचेतना गर्दा गर्दै पनि अटेर गर्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको हो ।
पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई उनीहरुबाट जनही १०० रुपैयाँ असुल गरेर अब आइन्दा मास्क लगाउने शर्तमा जरिवाना गरेर छाडीएको कार्यालयले जनाएको छ ।
महामारीबाट बच्न यस अघि नै सामुदायिक सेवा केन्द्र गोरखाको पहलमा जिल्लाको २३ स्थानमा ‘तपाईको मास्क खै’ अभियान सञ्चालन भइसकेको छ । संक्रमणलाई फैलिन नदिन गरिएको अभियानको बिपरीत जो कोहीले पनि मास्क नलगाई बजार क्षेत्रमा प्रवेश गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
केही दिन देखी केन्द्रको सहयोगमा प्रहरीले बजार क्षेत्र तथा वरपर माईकिङ्ग समेत गर्दै आएको छ । मास्क नगलाई अटेर गरेर हिड्नेलाई कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम रु १०० जरिवाना गरिने भएका कारण सबैलाई अनिवार्य मास्क प्रयोग गर्न पनि सरोकारवाला संस्थाहरुले अपिल गरेको छ ।



