गोरखा । जिल्लामा ट्राफिक नियम उल्लघन गर्नेहरुबाट ३ बर्षमा २ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले २९ हजार २५० वटा विभिन्न प्रकारका सवारी साधानहरुबाट २ करोड ४ लाख ६६ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए । ‘जिल्लाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लघन गर्ने साना तथा ठुला सवारीलाई कारवाही परेको’ भन्दै ‘त्यस्ता सवारीहरुबाट २ करोड भन्दा बढी राजश्व संकलन भएको’ प्रमुख ढकालले बताए ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार यो ३ बर्षमा सबै भन्दा धेरै दुई पाँग्रे सवारी मोटर साइकलले सवारी नियम उल्लघन गरेको देखिन्छ । ०७५/०७६ मा २ हजार १८३ वटा मोटर साईकल कारवाहीमा परेकोमा ०७६/०७७ मा बढेर ३ हजार ८५ वटा कारवाहीमा परेको थियो ।
त्यस्तै गरी गएको आर्थिक बर्ष ०७७/०७८ मा २ हजार ९८५ वटा मोटर साईकल कारवाहीमा परेका थियो । यो ३ बर्षमा ८ हजार २५३ वटा मोटर साईकल कारवाहीमा पर्दा त्यसबाट मात्रै ५८ लाख ८६ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले सवारीको अनुमती नभएका, चालक अनुमती पत्र नभएका तथा भएता पनि चेकिङका क्रममा देखाउन नमान्नेहरुलाई जरिवाना गर्ने गरेको जनाएको छ ।
गएको आर्थिक बर्षमा मात्रै पनि कार्यालयले ५०० भन्दा बढी मोटर साइकल चालकले अनुमती पत्र नलिकनै सवारी चलाएकाहरुलाई तिनका अभिभावकहरुलाई सम्झाई बुझाई अब आइन्दा त्यस्तो गल्ती नदोहराउने सहमतीमा सम्झाई बुझाई छाडीएको जनाएको छ ।
यो ३ बर्षको अवधीमा ६ हजार ८४७ वटा ट्रक/टिपर, ३ हजार १५६ वटा बस, ५ हजार ८५० वटा कार/जिप र ५ हजार १४४ वटा ट्याक्टर लाई कारवाहीको दायरामा ल्याएको कार्यालयले जनाएको छ ।
ट्रक/टिपरबाट ४८ लाख ६ हजार, बसबाट २१ लाख ३५ हजार ५००, कार/जिपबाट ४१ लाख २६ हजार, ट्याक्टरबाट ३५ लाख १२ हजार ५०० र मोटर साईकलबाट ५८ लाख ८६ हजार ५०० रुपैयाँ गरी कुल २ करोड ४ लाख ६६ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।




















