एजेन्सी – अमेरिकाले ‘कू’ गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘कू’ गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
प्रतिबन्ध सैनिक नेता, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित रहेको छ । अमेरिकामा रहेको १ अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम समेत वासिङटनले चाल्न लागेको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् । आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले म्यानमारका जनताले सुनाएको आवाज विश्वले हेरिरहेको उल्लेख गरेका छन् ।
यसअघि रोहिंग्या मुस्लिमविरुद्ध दमन गरेको आरोपमा म्यानमारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ ।
सैन्य कू विरुद्ध म्यानमारमा प्रदर्शन चर्किँदै गएको छ । मंगलबार प्रदर्शनकारीहरूलाई तितरवितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली प्रहार गरेका थिए ।
गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । सूचीसहित नेतालाई सेनाले नजरबन्दमा राखेको छ ।




















