काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले घोषणा गरेको आम हड्तालको बिहानै राजधानीको गोंगबुमा ट्याक्सी जलाइएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको हो । प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो । आगजनीबाट ट्याक्सी पूर्णरुपमा क्षति पुगेको छ ।
प्रहरीले नेता शाक्य सहित अन्यलाई पक्राउ गरयो
बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेता तथा कार्यकतालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ ।
यसै बिच गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएको छ ।
हडतालका कारण राजधानीको तिनै जिल्लामा फाट्टफुट्टमात्रै सवारी साधन चलेका छन् । प्रहरीले हड्ताल गर्दै हिड्ने ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ । अन्य समयमा जस्तो आज सवारी साधान नचल्दा राजधानीको जनजिवन प्रभावित बनेको छ ।



