गोरखा – उत्तरी गोरखाको साम्दोबाट ३४ बर्षिया एक मनोरोगी महिलाको उद्वार गरिएको छ ।
मानव सेवा आश्रमले गोरखा प्रहरीको सहयोगमा उत्तरी गोरखाको अन्तिम गाउँ साम्दोबाट उत्त महिलाको उद्वार गरिएको हो ।
आफुलाई जहाना बेगम र घरको ठेगाना स्यामपुर बताउने अन्दाजी ३४ बर्षकी महिलालाई गोरखा प्रहरीको सहयोगमा सदरमुकममा रहेको मानव सेवा आश्रमले उद्वार गरी उपचारको लागि मानव सेवा आश्रम चितवन पठाईएको गोरखा शाखाकी मुनाले जानकारी दिईन ।
जहानालाइ चुमनुब्री गाउँपालिका १ को साम्दोबाट प्रहरीको सहयोगमा आरुघाट सम्म ल्याईएको र आरुघाट प्रहरीले गोरखा सदरमुकाम सम्म ल्याएर मानव सेवा आश्रमलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए ।
प्रष्ट संग नेपाली भाषा बुझन र बोल्न नसक्ने ति महिला उत्तरी गोरखाको साम्दो सम्म कसरी पुगिन भन्ने बिषय आफुहरुले अध्ययन गरी रहेको प्रहरी कार्यालयले जनाएको छ । उत्त गाउँ गोरखाको अन्तिम गाउँ हुनाका साथै त्यहाँ अहिले माईनस ५ डिग्री भन्दा बढी चिसो रहेको समेत कार्यालयले जानकारी दिएको छ ।
कसैले पनि एक छाक खाना र एकसरो नानाको अभावमा सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अभिभावक विहीन ,सडकआश्रित भइ भोकै र नाङ्गै कष्टपुर्ण जीवन विताउन नपर्ने अवस्थाको सृजना गर्न मानव सेवा आश्रमले सहयोग गर्ने भन्दै त्यस्ता मानिस कही कतै भेटिएको खण्डमा आश्रमलाई खबर गरिदिन समेत मानव सेवा आश्रम गोरखाले अनुरोध गरेको छ ।




















