काठमाण्डौं – यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ मा उत्तम रहेको जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि समितिले बिहान ११ः३७ बजेको समय निर्धारण गरेको हो ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुँदैछ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।
गाई, गोरु र म्हः पूजा भने कात्तिक ३० गते परेको छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।


