एजेन्सी – पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले जो बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका छन् ।
बाराक ओबामा भन्दा अघि दुई कार्यकाल ह्वाइट हाउसमा रहेका रिपब्लिकन पूर्व राष्ट्रपति बुसले बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका हुन् ।
बुसले चुनाव आधारभुत रुपमा पारदर्शी र धाँधली रहित रहेको बताएका छन् । कानूनी मार्गमा जान राष्ट्रपति ट्रम्प स्वतन्त्र रहेको उनको भनाइ छ । बुसले वक्तव्य जारी गरेर बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसको नेतृत्वमा देश एकीकृत हुने विश्वास समेत व्यक्त गरेका छन् ।
बाइडेनलाई साउदी अरेबियाले पनि बधाई तथा शुभकामना दिएको छ । साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजीज अल सउद र उनका छोरा क्राउन प्रिन्स मोहम्मद बिन सलमानले बधाइ दिएका हुन् । ट्रम्प र युवराज मोहम्मद बिन सलमान नजिक मानिन्छन् ।
ओबामा प्रशासनमा उपराष्ट्रपतिका रुपमा रहेका बाइडेन सत्तामा आउने भए पछि साउदी अरेबिया र अमेरिकाबिचको सम्बन्धमा भिन्नता आउने सम्भावना देखिएको छ । सो कुरालाई साउदी अरेबियाले बधाई दिन गरेको ढिलाइले पनि संकेत गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।




















