नेवार समुदायका युवतीहरुले सहभागिता जनाउने प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता मिस नेवा: ११३२ की विजेता हुन् – सुनिता डंगोल ।
सुनिता डंगोलको परिचय मिस नेवा: को रुपमा मात्र सिमित गर्नु अन्याय हुन्छ । उनी कुशल उद्घोषिका हुन्, स्थापित टेलिभिजन तथा रेडियोकर्मी पनि हुन् ।
नेवार भाषाकी विज्ञ उनी रञ्जना लिपीकी प्रशिक्षक समेत हुन् । कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले लागू गरेको पहिलो चरणको लकडाउनको क्रममा सुनिताले फेसबुक लाइभमार्फत रञ्जना लिपीको बारेमा अनलाइन प्रशिक्षण नै सञ्चालन गरिन् ।
यसका साथै उनले करिव एक महिना नेपाल भाषाको अध्यापन समेत गराइन् । कोरोना भाइरसको संक्रमणबाट जोगिने सम्पूर्ण तयारी गर्दा गर्दै पनि उनै सुनिता डंगोल करिव तीन साताअघि कोरोना भाइरसबाटै संक्रमित भइन् ।
पछिल्लो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै सुनिता कोरोनामुक्त भैसकेकी छिन् । उनि संगको पछिल्लो कुराकानीको क्रममा सुनिताले आफू र आफ्नो परिवार कसरी संक्रमणको चपेटामा आयो, संक्रमित भएपछि उनीहरुको दिनचया कस्तो भयो, उनी कसरी संक्रमणमुक्त भइन् जस्ता विषयमा खुलेर कुराकानी गरेकी छिन् ।
सुनिताले गरेको कोरोना अनुभव उनकै शब्दमा :
सबैभन्दा पहिला त हामी परिवारका सबै सदस्यहरु आफन्तहरुबाटै कन्ट्याक्ट ट्रेसिङमा पर्यौं । कन्ट्याक्ट ट्रेसिङ्ग गरिएदेखि नै हामी सम्पूर्ण परिवार सेल्फ आईसोलेशनमा बस्यौं । सेल्फ आईसोलेशनमा बसेको ५ दिनमा पुरै परिवारको पिसिआर परिक्षण गर्यौं ।
पिसिआर गरेपछि रिपोर्ट नआउन्जेल कुर्न धेरै गाह्रो हुँदो रहेछ । रिपोर्ट के आउने होला भनेर चिन्ता र तनाव बढ्दो रहेछ । पिसिआरको रिपोर्ट पोजिटिभ भनेर थाहा पाउँदा सातो जाँदो रहेछ । डर र त्रासले सास फेर्न नै गाह्रो हुन थाल्यो जस्तो महसुस हुँदो रहेछ । आफ्नो भन्दा पनि परिवारको स्वास्थ्यको चिन्ताले मन झन् आत्तिँदो रहेछ ।
यस्ता थिए लक्षण
म लगायत परिवारका सदस्यहरुमा संक्रमणको मध्यम लक्षणहरु देखियो । मेरो सुँघ्ने क्षमता कोरोनाको कारण हराएको थियो । परिवारलाई सामान्य मध्यम खालको लक्षणहरु देखिएको थियो । परिवारमै संक्रमण हुँदा सबैभन्दा बढी कान्छो र जेठो सदस्य बढी चिन्ता हुँदो रहेछ ।
होम आईसोलेशनका १४ दिन
होम आईसोलेशनमा बस्दा १४ दिन कसरी बिताउने भनेर चिन्ता र अत्यास लाग्दो रहेछ । कोरोना भएका मानिस र परिवारलाई छर–छिमेक र समाजले हेर्ने दृष्टिकोण फरक हुँदो रहेछ । आइसोलेशनको अवधिमा हामीले स्वास्थ जीवनशैलीमा ध्यान केन्द्रित गर्यौं । पोसिलो, तागतिलो खानेकुराहरु बढि खायौं ।
आयुर्वेदिक औषधिहरु नियमित रुपमा प्रयोग गर्यौं, इम्यून बलियो बनाउन । साबुन पानीले सम्भव भएसम्म हात धोयौं । हात धुन सम्भव नभएको खण्डमा स्यानिटाईजरको प्रयोग गर्यौं । नियमित रुपमा तातोपानी खायौं । आफुलाई मन लाग्ने क्रियाकलापमा मन भुलायौं । सकारात्मक सोच राखेर परिवारका सबै सदस्य अघि बढ्यौं ।
नियमित रुपमा व्यायाम गर्यौं । स्वास्थ्य तथा पौष्टिक खानेकुरा खायौं । परिवारका सबै सदस्यले प्रशस्त मात्रामा पानी पियौं । खोकीका लक्षणहरु विरुद्ध तातोपानी पियौं । गीत, संगीतले आफ्नो र आफ्नो परिवारको मनोरञ्जन गरिराख्यौं । परिवारका सदस्यहरुले एक–अर्काको बीचमा दुरी कायम गर्यौं । मैले र परिवारको सबै सदस्यहरुले नियमित रुपमा मास्कको प्रयोग गर्यौं । रगतमा अक्सिजनको मात्रा नियमित रुपमा परिक्षण गरि राख्यौं ।
रुघा खोकीको लागि घर मै बनाईएको मसला, बेसार पानी सेवन गर्यौं । घरभित्र पनि निश्चित ठाउँमा मात्रै ओहोर–दोहोर गरिराख्यौं । आफ्नो नियमित काममा मनलाई भुलाईराख्यौं । स्वास्थ्य अवस्था सबल भएपछि पुनस् पिसीआर परिक्षण गर्यौं । रिपोर्ट नआउन्जेल फेरि केहि तनाव, अत्यासको महसुस भईराख्यो । दोस्रो पिसिआरको रिपोर्ट नेगेटिभ आएपछि एकदमै खुसी लाग्यो ।




















